जनकपुरधाम: दाइजोसम्बन्धी कसूरमा डा. पंकज चौधरीलाई करागार चलान गरिएको छ ।

पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का चौधरीलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार मदन प्रसाद जयसवालले जानकारी दिए । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजो सम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच विवाद उत्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् । नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

२०७९ पुष २३, शनिबार १६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय