जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १ सय २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १ सय २ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहे । यादवले प्रदेशसभाको दाश्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निणर्य गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको छ ।

मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँच जना स्वतन्त्र प्रदेशसभा सदस्यहरु सहित १०२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् ।

२०७९ माघ ४, बुधबार १४:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय