जनकपुरधाम : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई-रिक्सा ईकाई कमिटी जनकपुरले ई-रिक्सा व्यवस्थापनमा स्थानीय सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । छयाप्छयाप्ती रुपमा बिना मापदण्ड सञ्चालन गरिएको जनकपुरधाममा ई-रिक्सा संगठनले उप-महानगरपालिकाले पूर्ववत बाचा र आश्वासन पुरा नगरे आन्दोलनको चेतावनी दिएका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषाको ‘शास्त्री’ सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी ई-रिक्सा ईकाई कमिटी धनुषाका अध्यक्ष रमेश कुमार झाले भने, ‘चार वर्षमा ई-रिक्सा व्यवस्थापनमा उप-महानगरपालिकाले समस्या समाधानमा कहिल्यै गम्भीर बनेन’ झाले गुनासो गरे । ‘तराईकै अरु ठाउँमा बकाइदा दर्ता भएर विधिवत चल्न हुने, जनकपुरधाममा नहुने कारण के हो, बुझ्न सकिएन ।’ उनले स्थानीय सरकारले उचित व्यवस्थापनमा सञ्चालन गर्ने रुट र संख्या निर्धारण, कर दर निर्धारण लगायतको माग राखे ।

ई-रिक्सा ईकाई कमिटी धनुषाका प्रवक्ता वीरेन्द्र कुमार महतोले जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा दर्ता गरेर व्यवस्थापनको जिम्मा भएकोले यथाशिघ्र काम सुचारु गर्नुपर्ने बताए । उनले भने, ‘पर्यटकीय, धार्मिक तथा संस्कृतिक नगरिमै जिविकोपार्जन गरौं, स्वरोजगार बनौं भन्ने सोंच भएका धेरैले ऋण गरेर ई-रिक्सा खरिद गरे । अहिले यहाँ अन्धाधुन्ध ई-रिक्सा चल्न थाल्यो । ट्राफिक प्रहरीले कहिले के निहुँमा कहिले के निहुँमा सडकमा चल्ने ई-रिक्सा समात्दै र मोटो रकम जरिवाना गर्दै छाड्ने क्रम बढेकोले व्यवस्थित गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’

जनकपुरधाममा मात्रै अहिले करिब हजार भन्दा बढीई-रिक्सा सञ्चालनमा छन् । ई-रिक्सा ईकाई कमिटीले उपमहानगरभित्र गाभ्नुपर्ने, वार्षिक कर कायम गर्नुपर्ने, कमिटीको सिफारिसमा उपमहानगरद्वारा परिचय पत्र वितरण हुनुपर्ने र उक्त परिचय पत्रलाई लाइसेन्स सरह मान्यता दिनुपर्ने, पार्किङ्ग संख्या सहित प्रत्येक चोकमा ई-रिक्सा स्टेण्ड कायम हुनुपर्ने, दररेट निर्धारण तथा दररेट बोर्ड प्रत्येक चोकमा हुनुपर्ने, प्रत्येक ई-रिक्सा चालकहरुलाई जीवनविमा र स्वास्थ्य विमाको व्यवस्था हुनुपर्ने माग गरे ।

ई-रिक्सा ईकाई कमिटीका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाले आफूहरुको माग यथाशिघ्र सम्बोधन नगरे उपमहानगर घेराउ गर्नेसम्मको चेतावनीसमेत दिएका छन् ।

२०७९ माघ ४, बुधबार १८:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय