
गोविन्द महतो / जनकपुरधाम
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ जना मध्ये तीन पक्राउ परेको छ । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार नै पक्राउ परे । अर्का अमित मण्डललाई आईतवार उनको घरबाटै पक्राउ गरिएको हो । क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षिय मण्डल माथि शान्ति बिरुद्धको अपराधमा मुद्दा चलाईएको छ । यसैगरी मंगलवार राति नै मिथिला नगरपालिका ९ बाट हरिदिप सिंह पक्राउ परेका छन् । प्रहरीले रोशनलाई फरार भएको १२ घण्टा नपुग्दै पक्राउ गरेको थियो ।
आइतबार राति महतो सहित विभिन्न अभियोग लागेका ६ जना थुनुवाबाट घरको पर्खाल फोडेर फरार भएका थिए । धनुषाको मिथिला नगरपालिका–५ घर भएका रोशन यही माघ १२ गते नक्टाझिजबाट पेस्तोल सहित पक्राउ परेका थिए । उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिद बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो । यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छन् ।
शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । उनीहरुलाई दुवैजनालाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनीहरुमाथि पाँच दिन म्याद थपी प्रहरीले अनुसन्धान थालेको थियो । यस्तै, अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनीमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको थियो । हरदिप पाँच दिन थुनामा बसेर उनीहरुसँगै फरार छन् ।
लागुऔषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा थिए । उनीबारे अनुसन्धानका लागि दुईपटक म्याद थप भएको थियो । तर, प्रहरीको अनुसन्धान पूरा नभएकाले उनलाई थुनामै राखिएको थियो ।
राष्ट्र सेवामा बाधा विरोध गर्दा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र रोशन यादव पनि फरार छन् । यी दुवै जना १२ दिनदेखि थुनामा थिए । उनीहरु थुनुवा कक्षको भित्ता फुटाएर आइतबार राति सवा ३ बजेको फरार भएको थियो । घटनामा प्रहरीमाथि पनि शंका गरिएको छ । इलाका प्रहरी कार्यालयको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक बेचन यादवमाथि छानबिन गर्न दुईवटा समिति गठन भएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप बहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सुक्ष्म अनुसन्धान गरिररहेको बताएको छ ।