काठमाडौं : एसीसी प्रिमियर कपमा सोमबार वर्षाका कारण रद्द भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः हुँदै छ । आजको खेल पनि वर्षाले प्रभावित हुने सम्भावना रहेको छ ।

हिजो अस्तिको तुलनामा आज केही कम वर्षा हुने देखिएपनि वर्षा भने हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि मंगलबार (आज) ‘रिजर्भ डे’का लागि सरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजोकै अवस्थाबाट सुरु हुने खेल बिहान ९ बजेदेखि हुनेछ । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

सोमबार वर्षाले प्रभावित बनेको खेल दुई पटक रोकिएको थियो । त्रिवि क्रिकेट मैदानमा यूएईले १६ ओभरमा पाँच विकेट गुमाएर ६० रन जोड्दा वर्षा भएपछि पहिलोपटक खेल रोकिएको थियो । त्यसबेला खेल वर्षाका कारण आधा घण्टा रोकिएको थियो । यस्तै, २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल दोस्रोपटक रोकिएको थियो ।

प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्धतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए । समूह ‘बी’ बाट यूएई र कुवेत अन्तिम चारमा आएका थिए ।

२०८० बैशाख १९, मंगलवार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय