
लालगढ (धनुषा): सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) मधेश प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालका लागि सोम शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घ मधेश प्रदेशको दोस्रो अधिवेशनले शर्माको नेतृत्वमा ३३ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शर्मा यसअघि एक कार्यकाल अध्यक्ष रहीसक्नु भएको छ ।
धनुषाको मिथिला-१० लालगढमा सम्पन्न अधिवेशनले मोहम्मद युनिस, रिता कुँवर, राजकुमारी चौधरी र चन्द्रबहादुर थापालाई क्रमशः उपाध्यक्ष , महासचिव, कोषाध्यक्ष र सचिव निर्वाचित गरेको छ । त्यसैगरी लेखा तथा अनुगमन समितिको संयोजकमा श्रीराम न्यौपाने निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव थापाले जानकारी दिनुभयो ।
सम्पन्न अधिवेशनले मुलुकभरिका सबै सामुदायिक वन व्यवस्थापनको जिम्मा महासङ्घलाई दिन सरकारसँग माग गरेको छ । वन संरक्षण, व्यवस्थापन र उपयोगको सरकारी नीति उदासिन रहेको अधिवेशनका प्रतिनिधिले गुनासो गरेका छन् । डढेलो नियन्त्रण, विद्युत लाइन विस्तारका क्रममा काटिएका रुख र चोरी कटानका नियन्त्रणमा लिइएका काठ वितरणमा सरकार उदासिन रहेको महासङ्घ महोत्तरीका अध्यक्ष कुमार घिमिरेको गुनासो छ । यो सरकारी उदासिनताले घाटगद्दी गरेकै ठाउँमा अरबौं मूल्यका काठ धोद्रिदै र सड्दै गएका अधिवेशनका प्रतिनिधिले सरकारका प्रतिनिधिसमक्ष गुनासो गरेका हुन् ।
कार्यक्रममा महासङ्घका सङ्घीय अध्यक्ष भारती पाठकले मुलुकभरिमै २०३६ सालयता उजाडिएको वन सामुदायिक वन उपभोक्ताको निरन्तरको समर्पण र कृयाशीलताले अब हराभरा बनेको उल्लेख गर्नुभयो । सामुदायिक वनका उपभोक्ता वन जोगाउन र जगाउन निरन्तर जुटेपनि राज्यका सम्बद्ध निकायहरूबाट उल्लेख्य सहयोग नपाएको पाठकको गुनासो थियो ।
मधेश प्रदेशका आठ जिल्लाका ५६२ सामुदायिक वनमध्ये ५०३ सामुदायिक वन उपभोक्ता समूहबाट आआफ्ना जिल्ला शाखामार्फत प्रतिनिधि छानिएर अधिवेशनमा सहभागी भएका उद्घाटन सत्रमा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रदेश सरकारको वन निर्देशनालयका निर्देशक सुजितकुमार झासहितका वनविज्ञले दिगो वन व्यवस्थापनमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको औंल्याउनुभयो ।
अधिवेशन एक समारोहबीच आज बिहान मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उद्घाटन गर्नुभई सुरु गरिएको थियो ।
‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार’ मुख्य नारासाथ महासङ्घ यसपालि स्थानीय उपभोक्ता समूह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको महासङ्घले जनाएको छ ।