काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा बोल्दै उनले केही पनि दोषी छुट्न नहुने बताएका हुन्। ‘तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु,’ उनले भने, ‘दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफ्नो नाम जोड्न खोजे पनि त्यो सफल नहुने उनले स्पष्ट पारे। अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न उनले सरकारलाई चुनौती दिए। ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटकपटक प्रधानमन्त्री भएँ, ममाथि छानबिन गरियोस्,’ उनले भने। यो प्रकरण सरकारले सरकारले बाहिर ल्याएको नभएर आफैं आएको ओलीले बताए।

विगतमा आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए। उनले १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गए पनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ जनाको कार्डसमेत बनिसकेको उनको भनाइ थियो।

आफू प्रधानमन्त्री भएको बेला बाँकी शरणार्थीलाई पनि तेस्रो देश पठाउन समिति बनेको र त्यसले केही प्रस्ताव पठाए पनि आफूले होल्ड गरेको उनले बताए । आफू हटेपछि बनेको नयाँ सरकारले प्रस्तावलाई फिर्ता पठाएको तर प्रतिवेदनको कभर उही राखेर सूची फेरेको उनले बताए। ‘परिर्वतन गर्ने को हो, खोजी गर्नुपर्दैन?’ उनले भने।

तीन दलका शीर्ष नेता बैठक बस्दा अनावश्यक सन्देह गरिएकोमा पनि ओलीले आपत्ति जनाए। ‘हामी तीनमध्ये दुई जना दूधले नुहाएका अनि मचाहिँ अपराधी जोगाउन म्याउँम्याउँ गरिरहेको रे। याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन,’ उनले भने।

२०८० जेष्ठ ७, आईतवार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय