File Photo

महोत्तरी : प्रकृति एबं नदी अधिकार संरक्षणबारे महोत्तरीमा चासो बढेको छ । प्रकृति एबं नदी अधिकार संरक्षण अभियान, महोत्तरीमा सङ्गठित अभियानीले जिल्लाका सबै नदी सभ्यताको अध्ययन र संरक्षणबारे चासो बढाएका छन् ।

“हामीले रातु नदीको किनारमै रहेर जीवन धान्न सिक्यौं, खानेपानी र सिञ्चाइ कुलो यही नदीले दिदै थियो, पछिल्लो दशकभित्र नदी, वनपाखा र थुम्काहरुमा अनियन्त्रित दोहन बढेसँगै अब सिञ्चाइमात्र नभएर खानेपानीकै सङ्कट बढेको छ” अभियानका जिल्ला संयोजक बर्दिबास-१ का बासिन्दा ४० वर्षीय निरोज अधिकारी भन्नुहुन्छ, “अब यी प्राकृतिक सम्पदाको संरक्षणमा नजुट्ने हो भने ठूलठूला विपत्ती बढ्नेछन् ।” रातु महोत्तरी र धनुषाको साँध छुट्याउँदै चुरे पाहाडको पाथीपरानबाट निस्केर महोत्तरीको जलेश्वर हुँदै भारत पस्ने नदी हो ।

उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलसम्म २८ किलोमिटर दुरी धनुषासँगको सीमा बन्ने रातु नदी त्यसपछि महोत्तरीका दर्जनौं गाउँनगर बस्ती छिचोल्दै जलेश्वरपछि भारत पस्छ । महोत्तरीमा एकताका रातु नजिक बसे जिविका चल्छ भन्ने भनाइ अबभने अभिशापजस्तै बनेको छ ।

“हिउँदभरि पानी नदेखिने , बर्खा लाग्यो कि घरखेत बगाउने त्रास !” अभियानकै सदस्य भङ्गाहा-४ का ४५ वर्षीय हिरालाल महतो भन्नुहुन्छ, “दुई दशकअघिसम्म बार्‍हैमास पानी बग्ने रातुमा अब बालुमात्र देखिन्छ ।” नदीक्षेत्र, उकासक्षेत्र, वनपाखा र थुम्कामा बढेको अनियन्त्रित उत्खनन् र बढ्दो वन विनासले सन्तुलित वर्षा हुन छाडेपछि रातु बर्खेभेलको त्रासदी बनेको महतोको बुझाइ छ । अब यिनको संरक्षणमा सबैको चासो आवश्यक रहेको महतो बताउनुहुन्छ ।

पहिले ऋतु लक्षणअनुसार पर्ने पानी अब कथा झै बनेको यसभेगका सर्वसाधारण बताउँछन् । प्रकृति मानव हस्तक्षेपले फेरिदै जाँदा वर्षा, जलाधारक्षेत्र र मूहान खलबलिएका भङ्गाहा-४ कै ७५ वर्षीय इस्लाम कवारी बताउनुहुन्छ । “हामी रातुमा बर्सेनि कुलो सखारेर खेतीपाती गथ्र्यौ, ती दिन अब कहावत (कथा) जस्ता भए” कवारी भन्नुहुन्छ , “अब त नदीको के कुरा गर्नु , घरआँगनको इनार नै बर्सेनि सुकेर खानेपानीको हाहाकार पर्ने गरेको छ ।”

जिल्लामा रातुमात्र नभएर मरहा, जङ्घा, बाँके, अङ्कुशी, गेरुका र बिग्ही (तल्लो भेग पुगेपछि कुटमेश्वरी)सहितका नदीमा यहाँको सभ्यता चलेको बुढापाका बताउँछन् । “यी नदी अन्नदाता र जीवनदायिनीका रुपमा पूजित थिए, बर्सेनि यी नदीको पूजा गरिन्थ्यो”अङ्कुशी नदी छेउको महोत्तरी गाउँपालिकामा पर्ने गोरीगामा बस्तीका पुराना सामाजिक कार्यकर्ता ७० वर्षीय रामगुलाम पासवान भन्नुहुन्छ, “अब नदी पुरानो आफ्नो रुपमा रहेनन् , मान्छेले नै यिनलाई कुरुप बनाएका छन् ।” प्राकृतिक सम्पदामाथि मान्छेको एकोहोरो दोहनले ऋतुतालिकाअनुसारको मौसम हुन छाडेको पासवानको भनाइ छ । सदाबहार पानी बग्ने नदीका पुरानो बहावक्षेत्रमा अचेल कमिला हिडेका देख्नु परेको उहाँ बताउनुहुन्छ ।

प्राकृतिक सम्पदामाथि बढेको टाठाबाठाको हस्तक्षेपले सर्वसाधारणमा बढेको निरासा चिर्न सङ्गठित प्रयत्नको आवश्यकता महसुस गरी ‘प्रकृति एबं नदी अधिकार संरक्षण अभियान’ को महोत्तरी समिति गठन गरिएको अभियानीहरुको भनाइ छ । जिल्लाका रातु, मरहा, बाँके, बिग्ही, जङ्घा र गेरुकासहितका नदीका पुरानो परिचय र सभ्यता स्थापित गर्न जनता जगाउन सचेतना अभियान बढाइने अभियानका सचिब सन्तोस पौडेल बताउनुहुन्छ ।

करिब दुई साता पहिलेमात्र गठन गरिएको अभियानले जिल्लाका प्राकृतिक सम्पदाहरुको सूची तयार गर्ने, यिनको संरक्षणका चुनौती पहिल्याउने र समस्या सामाधानका उपायबारे बिभिन्न सरोकारवाला निकायसँग पहलकदमी बढाउने निणर्य गरेको संयोजक अधिकारीले जानकारी दिनुभयो । अभियानले नदी, नदीउकास क्षेत्र, जलाधार क्षेत्र, वन तथा वनपाखासहितका प्राकृतिक सम्पदा अनियन्त्रित उत्खनन् र अतिक्रमणको चपेटामा परेका निष्कर्ष निकालेको अधिकारीको भनाइ छ ।

“हामी धनुषाको ‘कमला जलाधार संरक्षण अभियान’बाट उत्प्रेरित भएका छौं, निरन्तरको प्रयत्नबाट अवस्था फेर्न सकिने विश्वास छ”संयोजक अधिकारी भन्नुहुन्छ, “अब जिल्लाका सबै नदी सभ्यतासँग जोडिएका सरोकारवालालाई आआफ्ना नदीसँग जोडेर अभियान अघि बढाइन आवश्यक छ ।” नदीहरुसँगै जिल्लाका आदिकालदेखिका जलाधार क्षेत्रहरु जुडी, पचायन, कदमखाडी र जिवछीसहितको संरक्षणमा चासो बढाइने अधिकारीले बताउनुभयो ।

अहिले नदी, वनसहितका प्राकृतिक सम्पदाबारे अभियानीहरुले संरक्षणका लागि सकारात्मक चासो बढाएपछि सर्वसाधारणमा नयाँ आशा पलाएको छ । निरन्तरको सङ्गठित प्रयत्नले हाम्रा प्राकृतिक सम्पदा संरक्षणमा बल पुग्ने भङ्गाहा-५ का बासिन्दा नेपाल सरकारका पूर्वसहसचिब रामबहादुर भुजेलको धारणा छ ।

२०८० जेष्ठ १२, शुक्रबार २०:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय