
महोत्तरी : जेठ लागीकनको लगातारको हावाहुरीले महोत्तरीका फलपूmल र तरकारी किसान निरास भएका छन् ।
जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन् । पछिल्लो पटक शुक्रबार गएरातीको हावाहुरीले बग्रेल्ती आँप झारेको छ । त्यसैगरी फर्सी, लौका, घिरौंला, झिमनी , काक्रा र चिचिण्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो ।
“हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ” आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भङ्गाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भन्नुभयो, “जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो कोनि !” अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आश पनि मरेको ठाकुर बताउनुहुन्छ । तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ । तर दुई साताअघिको हावाहुरीले आँप झारेपछि मन अड्याउने ठाउँ नभएको ठाकुरको भनाइ छ ।
महोत्तरीमा जेठ लागीकन प्रत्येक दुई/तीन दिनमा हावाहुरी चल्दै आएको छ । बिहीबार साँझ र शुक्रबार रातीको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन् । हुरीले झारेर फुटाएको आँप त मलको भकारोमा मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउनुहुन्छ ।
विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपालि जेठ लागीकन लगातार चलेको हावाहुरीले अत्याएको छ । “हेर्नोस् न, जेठको दुई साता नबित्दै पाँच/छ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ” बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन् , सुत्ला चेपेका र घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ ।” प्रकृति अनुकूल नहुँदा विपदैविपद खेप्नु परेको थापाको भनाइ छ । हावाहुरीसँगै मेघगर्जन खुबै सुनिएपनि पानीभने त्यति नपरेको किसान बताउँछन् । “हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन”गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्नुहुन्छ ।
जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका फलपूmल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन् । उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, बिजलपुरा र पशुपतिनगरसहितका बस्तीको त मुख्यबाली नै फलपूmल (बगैंचा) खेती हो । बगैंचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ । त्यसैगरी जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवासहितका स्थानीयतहका बस्तीमा पनि बगैंचा खेती बाक्लै छ । जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्ने क्रम सुरु हुन्छ । यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन् ।
“हाम्रो बिल्लिबाठ छ, यो अवस्था हेर्न, बुझ्न कोही फर्केर आएका छैनन्” दुःखका बेला साथ पाइने आशले आफैंले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भङ्गाहा-४ का किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “सबै सुखका साथी रहेछन् ।” पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभूल्लमा परेको बताउनुभयो ।
चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलपूmल र तरकारी अब चैं हात लाग्ने विश्वासमा थिए । तर पुरानो ऋतु रितिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो । यसपालि जेठ लागीकन सयौं बिघाको फलपूmल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ ।
अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदैे) आएको हावाहुरी यहींमात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञहरुको मत छ । मानवको घच्चपच्चले प्रकृतिका पुराना रिति फेरिदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नु परेको रुपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउनुहुन्छ । “यो प्रभाव न्युनीकरण गर्न प्राकृतिक स्वरुपको रक्षा र प्रभाव अनूकूल आनिबानी र खेतीपाती गरिन पर्छ” पन्त भन्नुहुन्छ । राज्यका सबै अङ्गले यो अनुकूलन विधि अँगाल्न आम जनतालाई अभिप्रेरित गर्नपर्ने पन्तको सुझाव छ ।