काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेमाथि कडा कारबाही हुने बताएका छन्।

मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको आइतबारकाे प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकारअनुसार सबै नेपालीलाई नागरिकता दिने उल्लेख गरे।

‘संविधानअनुसार नागरिकताको हक प्राप्त नेपाली नागरिकहरूलाई यथाशीघ्र नागरिकताको प्रमाणपत्र दिने, नागरिकताको हक दिने र नागरिकताको दुरुपयोग र अवमूल्यनलाई कडाइपूर्वक नियन्त्रण गर्ने सरकारको नीति रहेको छ,’ उनले भने।

उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको निर्बाध प्रयोगसहित स्वतन्त्र नागरिक जिन्दगी पाउने स्थितिको प्रत्याभूति गर्ने नीति सरकारले नीति लिएको बताए। ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापना गर्ने, विपद् जोखिमको न्यूनीकरण तथा व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ,’ उनले भने।

उनले राष्ट्रिय परिचयपत्रको अभियानात्मक वितरण र त्यसबाट हुने अन्य क्षेत्रहरूको सेवालाई समेत सहज बनाउने विश्वास दिलाए। ‘लागुऔषध रोकथाम गर्ने, महिला हिंसा हुन नदिने र त्यसमा संलग्न पीडकहरूमाथि कडा भन्दा कडा कारबाही गर्ने, दलितमाथिको विभेदलाई कडाइका साथ नियन्त्रण गर्ने र विभेद गर्नेलाई कडाइका साथ कारबाही गर्ने नीति सरकारले लिएकाे छ,’ उनले बताए।

२०८० असार १०, आईतवार १२:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय