बर्दिबास : “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी आ भरोसा देलक” (बाबु , लाग्दथ्यो ,बुढ्यौली उमेर नर्क (अतिकष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन र भरोसा जागेको छ ) भर्खरै मोतीबिन्दूको शल्यकृयापछि आँखाको ज्योति फेरि पाउनु भएकी महोत्तरीको बर्दिबास नगरपालिका-२ बुद्धचोककी ८४ वर्षीया आद्यादेवी झाले खुशी साट्दै भन्नुभयो । पछिल्ला पाँच वर्षदेखि मोतीबिन्दूले आँखा टालिएर जीवन बोझ भएको ठान्नु भएकी उहाँमा अब फेरि रमाइरमाई संसार हेर्ने आश जागेको छ । झाको देब्रे आँखाको शल्यकृया भएको हो ।

आँखामा मोतीबिन्दू भएर पछिल्ला पाँच वर्षदेखि ओरपर घुमफिर र दिसापिसाव गर्न पनि घरपरिवारका अन्यको सहाराले चल्नुपर्ने झा यसै असारको पहिलो साता शल्यकृया सम्पन्न भएयता भने अब आफैं हिंडडुल गर्न सक्ने हनु भएको छ । “नई सोचल सुख हमरा ई बुढारी में भेटल (मैंले नसोचेको सुख यो बुढ्यौलीमा पाँए) झाले भन्नुभयो ।

झाजस्तै जिल्लाको बर्दिबासकै वडानम्बर-१ बस्तीकी ७९ वर्षीया मानकुमारी राना मगर पनि आँखाको शल्यकृयापछि पट्टी खोलिदा दङ्ग पर्नुभएको छ । “हेर्दाहेर्दै देख्दादेख्दै आँखा बन्द भए, म त भगवानको पुकारा गर्थे चाँडै लैजाउ भनेर” रानाले भन्नुभयो, “अब आँखा खुल्यो, अझै बाँच्न देउ भन्दैछु ।” सामान्यतया ५० वर्ष उमेर कटेपछि हुने मोतीबिन्दू र आँखामा मासु पलाउने समस्या बर्दिबास-१ की सैमुम खातुनलाई ३५ वर्षको लाउँलाउँ खाउँखाउँकै उमेरमा भयो । लुगा सिउने पेसाकी खातुन आँखा बन्द भएपछि जिन्दगीलाई धिक्कार्न थाल्नुभयो । तर यसै बिते साता उहाँको आँखामा पलाएको मासु शल्यकृया गरेर फालिएपछि अब फेरि काममा फर्कने खातुनमा विश्वास जागेको छ ।

झा, राना र खातुनजस्तै बर्दिबास-४ की ७३ वर्षीया बबीमायाँ मगर, बर्दिबास-१ की ६० वर्षीया बेचनी महरा, बर्दिबास-३ कालापानीकी ६० वर्षीया पूmलमायाँ विक र बर्दिबास-४ का ४४ वर्षीय तिलकबहादुर थापालाई पनि मोतीबिन्दू र आँखामा मासु पलाएको समस्या शल्यकृयाबाट निको भएपछि नयाँ जीवन पाएको महसुस भएको छ । “अपरेसन भएपछि अब भने बाँची रहने आश जाग्यो, अब लाग्दैछ, यो संसार हाँमीलाई हेर्नकै लागि हो” बबीमायाँ मगरले खुशीका आँशु उछाल्दै भन्नुभयो ।

पछिल्लो पटक बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा बर्दिबास आँखा अस्पताल बर्दिबास-१ महोत्तरीले नगरका ग्रामीण भेगलाई लक्षितगरी गत जेठ अन्तिम सातादेखि सञ्चालन गरेको आँखा जाँच र शल्यकृयासहितको निःशुल्क उपचार प्रबन्धले यसपालि नगरका ५२ जनाले शल्यकृयाबाट गुमेको आँखाको ज्योति पाएका छन् ।

“आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल” (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु , केही भेउ पाउँदैनथे) अहिले घरमा भेट्न पुग्ने आफन्तलाई बेचनी महरा भन्नुहुन्छ, “डाक्डर (डाक्टर) आँइखक पट्टी खोइल देलन, आब हरकुछके चाह सेहो बढल” (डाक्टरले आँखाको जालो हटाइ दिनुभयोे, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो) ।

नगरका ग्रामीण भेगका गरिब बस्तीमा मोतीबिन्दू र आँखामा मासु पलाउने समस्याका बिरामी बाक्लै देखिएपछि यसपालि बर्दिबास नगरपालिकाले आँखाको जाँच, औषधी, चश्मा र शल्यकृयासमेतको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएर बर्दिबास आँखा अस्पताललाई यो प्रबन्धको जिम्मा दिएको हो । नगरका ग्रामीण भेगका छ ठाउँ सञ्चालित आँखा जाँच शिबिरमा तीन हजार ८०० जनाको आँखा जाँच गरिएको बर्दिवास आँखा अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । शिबिरमा शल्यकृयाका अतिरिक्त ६०० जनालाई आँखामा लगाउने र खाने औषधी र २७८ जनालाई चश्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । नगरभित्र सञ्चालित शिबिरमा शल्यकृया गरिन पर्ने ठहर गरिएका ४४ जनाको शल्यकृया गर्न बाँकी रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

आँखा जाँच र शल्यकृया हिमालयन आई केयर फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. दिपक खड्का नेतृत्वको चिकित्सक टिमले सम्पन्न गरेको हो । विक्रम सम्वत् २०६३ सालमा स्थापित बर्दिबास आँखा अस्पतालले पछिल्ला १० वर्षयता बिभिन्न सामाजिक सङ्घसंस्था र निकायको सहकार्यमा आँखाका जटिल समस्याको पहिचान, जाँच र शल्यकृयासहितका आवश्यक उपचार गर्दै आएको छ ।

२०८० असार १४, बिहीबार १४:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय