महोत्तरी : यसपालि लामो खडेरीले दुई दिनअघिसम्म खानेपानीकै हाहाकार परीरहेका बेला आज मङ्गलबार बिहानैदेखि बाढीले महोत्तरीबासीलाई हायलकायल बनाएको छ । लामो समयपछि आइतबार मध्यरातयता पानी पर्न थाल्दा खुशी भएका सर्वसाधारण एक दिनपछि नै आज हायलकायल बनेका हुन् । सोमबार राती मुशलधार पानी परेपछि महोत्तरीका अधिकांश बस्ती जलाम्य बनेका छन् ।

यसपालि पानी नपर्दा साउन तेस्रो साता बित्दैगर्दासम्म किसानले धान रोप्न सकेनन् । खेतीपातीका लागि मात्र नभइ वर्षा नहुँदा पानीका स्रोतका मूहान सुकेर जिल्लाका कैयौं बस्तीमा खानेपानीको हाहाकार नै मच्चियो । साउन तेस्रो साता बित्दैगर्दा गत आइतबार साँझसम्म बर्खा यामको कुनै झल्को नपाएका यहाँका सर्वसाधारण सोमबार राती मुशलधार पानी परेपछि यहाँ आज बिहान सडक, बाटाघाटा र घरआँगन जलाम्य बनेका छन् ।

आज बिहान रातु नदीमा आएको बाढीले जिल्लाको मध्य र दक्षिवर्ती भेगमा भागाभाग मच्चाएको छ । बलवा नगरपालिकाको वन्चौरी बस्ती पूर्वको बाँध बाढीले भत्काएपछि अहिले बाढी गाउँ बस्ती पसेको छ । यो बाढी जिल्लाको महोत्तरी गाउँपालिकाका गोरीगम्मा, हर्री, मडै, डाम्ही, रतबारासहितका आठ/दस बस्ती नाघ्दै जलेश्वर नगरक्षेत्रमा प्रवेश गर्नेछ । बाढीको बहाव तिब्र नभएपनि यसले घर डुबाउने, कच्ची घर लडाउनेसम्मका दुःख अब सर्वसाधारणले पाउने गोरीगमा बस्तीका सामाजिक कार्यकर्ता विनोद पासवान बताउनुहुन्छ ।

पूर्वपश्चिम चौडाइको जिल्लामा बडहरी, रातु, भब्सी, गणन्ता, टुटेश्वर, खयरमारा, मरहा र बाँकेसहितका नदी चुरेबाट निस्कन्छन् । यीबाहेक बिग्ही, जिवछी, कुटमेश्वरी र ओक्सीसहितका नदी पूर्वपश्चिम राजमार्ग मुनि गएर जिल्ला हुँदै बग्छन् । बढीमा प्रत्येक दुई किलोमीटरभित्र नदी पर्ने जिल्लाका बासिन्दालाई यी नदी वरदान हुन सकेका छैनन् ।

“लु पानी पर्‍यो, अब बाढीले बगाएर ल्याएको मलिलो पाँगो माटो खेतमा पसाउँ न त भन्ने आश छैन, कुनै नदीसँग जोडिएर सिंचाइका कुला नबनेपछि यी नदी हाम्रो घरखेत बगाउने अभिशापमात्र बनेका छन्” भङ्गाहा-६ सग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादव भन्नुहुन्छ, “कहिले खडेरी, कहिले बाढी..! हाम्रो भाग्य फेरिने छाँट छैन ।”

चुरेबाट निस्कने नदी धेरैजसो जिल्लाको सम्पूणर् लम्बाइ छिचोल्दै भारत पस्छन् । “जिल्ला भएर बग्ने यी नदीमा बाँध, कुलोको व्यवस्था गर्नसके खेतीका लागि आकाश ताक्नु पर्ने दिन सायद अन्त्य हुन्थे होलान्” मरहा नदी किनारकै सोनमा गाउँपालिकाको खेस्राहा गाउँका बासिन्दा रामप्रताप यादव भन्नुहुन्छ, “तर हामी दुख्याहालाई सधैं खडेरी र बाढी आतङ्कले नछाड्ने भयो ।”

जिल्लामा बर्खायाममा रातु, बडहरी, मरहा, कुटमेश्वरी र बाँके नदीले बढी उत्पाद मच्चाउँदै आएका छन् । “यो प्रत्येक वर्षको पीडा बन्यो , पानी नपर्दा खेती नहुने चिन्ता, पर्दा घरखेत बगाउने पीर” भङ्गाहा-४ रामनगरका किसान शेष जव्वार भन्नुहुन्छ, “माथि सरकारमा जुन जोगी आएपनि कानै चिरेका भनेजस्तै हाम्रा दिन फिर्ने भएनन् ।”

बस्तीबस्तीमा सडक, ढल व्यवस्थापन हुन नसक्दा एक रातको पानीले घरघरै बाढी पसेर बेहाल बनाएको छ । जिल्लामा अन्यभन्दा अलि उचो र रुखो भनिने बर्दिबास नगरक्षेत्रका घरघरैजस्तो बाढी पसेको छ । बर्दिबास-१, २ र १४ का शिरानबाट निस्केका खोल्साखोल्सीका बहावक्षेत्र अतिक्रमण गरेर बिभिन्न संरचना बनिदा अहिले बाढीले उत्पाद मच्चाउँदै घरघर पसेको बर्दिबास-१४ का खकन साह बताउनुहुन्छ ।

पछिल्लो वर्षाले जताततै पानी टनाटन्न देखिएपनि धान रोपाइँ बढ्ने छाँट नभएको किसान बताउँछन् । बीउ ब्याडमै डढेको हुँदा अहिले पानी भएपनि अब रोपाइँ बढ्ने अवस्था नरहेको अधिकांश किसान बताउँछन् । यसअघि असारमै रोपिएको कतैकतैको रोपो गाँजिए त्यसबाट खरुअन (कलम) सार्न सकिने किसानको भनाइ छ । तर खरुअन उखालिने धान निकै कम देखिएको बलवा नगरपालिका-११ भगवतीपुरका उत्तिम मुसहर बताउनुहुन्छ । “अहिलेको वर्षाले त किसानलाई झन् दुःख दिनेभयो, बीउ डढेका हुँदा धान रोप्न सकिन्न , अनि अन्य वैकल्पिक बाली लगाउन अब खेत जलाम्य भएर दिएन”मुसहर भन्नुहुन्छ, “अब झन् अप्ठ्यारा दिन आउलान् जस्तो छ ।”

पछिल्लो वर्षासँगैको बाढी र पानीको रेढाले डुवान र कटानबारे सचेत गराएको हुँदा सम्बद्ध निकायले यसको बचाउको पूर्वतयारी गर्नुपर्ने सर्वसाधारण बताउँछन् । खासगरी स्थानीयतहका जनप्रतिनिधिले यी विषय उपल्लो तहसम्म पुर्‍याएर आवश्यक प्रबन्धको पहलकदमी लिनपर्ने सर्वसाधारणले सुझाएका छन् ।


२०८० श्रावण २३, मंगलवार १७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय