
बर्दिबास : महोत्तरीको बर्दिबास-१ स्थित महिलाकेन्द्र बहुउद्देश्य सहकारी संस्था लिमिटेडले एक वर्षमा ४२ लाखभन्दा बढी नाफा कमाएको छ । संस्थाको बिहीबार बर्दिबासमा सम्पन्न २० औं साधारणसभामा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा संस्थाले ४२ लाख १६ हजार २६५ नाफा गरेको उल्लेख गरिएको हो । बर्दिबासका सहकारी संस्थाहरुमा यो सर्वाधिक नाफा देखिन्छ ।
विक्रम सम्वत् २०६० साल वैशाखमा २५ जना उत्साही महिलाले स्थापना गरेका यो संस्थामा हाल तीन हजार १०४ सेयर सदस्य छन् । स्थापनाकालमा दुई हजार ५०० सेयर पूुजीबाट सुरु गरिएको संस्थामा अहिले यो पूुजी सेयरतर्फ एक करोड आठ लाख ७८ हजार १०० र बचततर्फ छ करोड २८ लाख ६३ हजार ६५६ रहेको संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक निर्मलकुमार तिमल्सिनाले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
संस्थाको वाह्य कर्जा ५३ लाख ६५ हजार २७० र कर्जा लगानीतर्फको रकम आठ करोड ७७ लाख तीन हजार ३०७ रहेको प्रतिवेदनमा जनाइएको छ । संस्थाको साधारण जगेडा कोषमा एक करोड ६२ लाख १६ हजार सात रहेको उल्लेख छ ।
संस्थाको सम्पन्न २० औं साधारणसभामा उत्कृष्ट समूह, सेयर बचतकर्ता र उद्यमीलाई सम्मानित गरिएको छ ।
संस्थाको २० औं साधारणसभा बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षत्रीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष शारदा दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।