
लुम्बिनी: प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन्।
बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा उनले सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने बताए।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्दै अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताए।
सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएको दाबी उनले गरे।
‘हामी ब्याजदरलाई एकल अंकमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौं,’ उनले भने, ‘विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ। जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ।’
प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गरे। उनले पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उल्लेख गरे।