नेपालवाणी / जनकपुरधाम

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमै पहिलो चोटी किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा किडनीमा रहेको लेफ्ट एडरनल ट्युमरलाई सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

२२ गुणा ५० सेन्टिमिटरको करिब २ किलो ६ सय ग्रामको ट्युमर हटाउन प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजिष्ट डा सुधिर सिंहको नेतृत्वको टोलीले नेपालमै पहिलो पटक सफल शल्यक्रिया गरेको अस्पतालको दाबी छ । क्यान्सर ठिक गराउन भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा पुगेका जनकपुरधाम उप–महानगरपालिका २४ बसहियाका ३५ वर्षीय रामतोला देवीले पैसा नभएकै कारण उपचार गराउन नसकेको बेलामा प्रादेशिक अस्पतालले उपचार गरेपछि लाखौं रुपैयाँको बचत र जनकपुरमै उपचार भएकोमा खुशी व्यक्त गरिन् ।

‘घरको आर्थिक अवस्था साह्रै कमजोर छ । लाखौैं रुपैयाँ खर्च गर्न सक्ने अवस्था छैन् । नेपाल स्थित क्यान्सर अस्पताल चितवन र भारतको कयौं अस्पतालबाट उपचार नहुने जवाफले निराश भएको बेलामा खुशी नहुने कुरै छैन् ।’ महिलाले भनिन्, ‘आफ्नै ठाउँको अस्पतालमा निः शुल्क सफल उपचार गरिदिने डाक्टरहरु मेरा लागि भगवानको रुप हुन् ।’

शल्यक्रिया टिमको नेतृत्व गरेका डा. सुधिर सिंहले यस किसिमको शल्यक्रिया नेपालमै पहिलो पटक भएको दाबी गरेका छन् । ‘बिरामीको ट्युमर किडनीसंगै टाँसिएको थियो, तर हामीले किडनीलाई समेत बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने । नेपालमै पहिलो पटक भएको कारण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ठूलै उपलब्धि रहेको रजिष्ट्रार डा. विनोद कुमार यादवले बताए । शल्यक्रियामा डा. सिंहसंगै डा. नविन साह, डा. अमित कर्ण, डा. संजय यादव र ओटी टिमको सहभागिता थियो ।

अस्पतालले बिरामीको पारिवारिक तथा आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण अस्पतालमा लाग्ने सम्पुर्ण शुल्क समेत मिनाहा गरेको प्रतिष्ठानका रजिष्टार डा. विनोद कुमार यादवले जानकारी दिए ।

२०८० पुष २१, शनिबार १४:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय