
नेपालवाणी / जनकपुरधाम
रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले गैर आवासिय नेपाली संघले नेपाल रेडक्रस सोसाईटी धनुषालाई सुविधा सम्पन्न रक्त संकलन बस हस्तान्तरण गरेको छ । गैर आवसीय नेपाली संघले प्रदेश सरकारको उपस्थितिमा जनकपुरधाम उप–महानगरपालिकाको माध्यमबाट नेपाल रेडक्रस सोसाइटी धनुषालाई आधुनिक प्रविधियुक्त रक्त संकलन बस हस्तान्तरण गरेको हो ।
रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन गेर आवासिय नेपाली संघले मधेश प्रदेशका लागि ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याएको हो । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापनमा चुनौतीपूर्ण बन्दै गएकाले रगत व्यवस्थापनमा सघाउने उदेश्यका ासथ एम्बुलेन्स ल्याइएको एनआरएनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतले बताए ।
रक्त एम्बुलेन्समा गाडी भित्रै बसेर रक्तदान गर्न सकिन्छ । एनआरएनले उपलब्ध गराएको एम्बुलेन्स ७० लाखको लागतमा भित्रर्याइएको अधिकृत राउतले जानकारी दिए । एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्ने उनले बताए । त्यस्तै रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्स भित्रै रहेको छ । रगत अभाव भएको बेला गाउँ गाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।
रगत संकलन एम्बुलेन्सको माध्यमबाट प्रतिकुल मौसममा समेत रगत संकलन गर्न सहज हुने विश्वास लिइएको छ । रक्त संकलन एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री बीरेन्द्र सिंहले रगतको माग दिनहुँ बढिरहेका बेला एनआरएनले गरेको कार्य निकै सराहानीय रहेको बताए । उनले मधेशबासीका निम्ति रगतको व्यवस्थापनमा कोसेढुङ्गा सावित हुने बताए ।
जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख मनोज कुमार साहले रक्त संकलन बसबाट रेडक्रस र बिरामीहरलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले रक्त संकलन मोबाइल एम्बुलेन्सलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, नेपाल रेडक्रस सोसाईटीका नरेश सिंह सहितका सहभागिता थियो ।