भङ्गाहा (महोत्तरी), ४ माघ ।  मधेशको प्राचीन मिथिला क्षेत्रका प्रसिद्ध पहलवान ‘खलिफा’ उपनामले परिचित जितन यादवको आज बिहीबार निधन भएको छ । महोत्तरीको भङ्गाहा-९ का स्थायी बासिन्दा यादव केही समयदेखि बुढ्याइँले अस्वस्थ रहदै आउनु भएको थियो । यादवको १०१ वर्षको उमेरमा आफ्नै निजी निवासमा निधन भएको हो ।

विक्रम सम्वत् १९७९ सालमा जन्मनु भएका यादवले किशोरावस्थामै पहलवानीमा पाउनु भएको ख्यातिले ‘खलिफा’ उपनाम पाउनु भएको हो । ‘खलिफा’ पहलवानीमा पारङ्गत व्यक्तिलाई दिइने विशेष उपाधि मानिन्छ ।

मधेशमा कैयौं ठाउँका दङ्गल (पहलवानी प्रतियोगिता)मा श्रेष्टता हासिल गर्नुभएका यादवका यसक्षेत्रका कैयौं चेला (शिष्य) छन् । पञ्चायतकालमा प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका यादव वामप्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा परिचित हुनुहुन्थ्यो । स्व. मनमोहन अधिकारीको सामिप्यता पाउनु भएका यादव लामो समयसम्म नेकपा (एमाले) मा आबद्ध हुनुहुन्थ्यो ।

‘जितन खलिफा’ भनेर चिनिने यादवको निधनमा महोत्तरी-१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी, मधेश प्रदेशसभाका सदस्य शारदादेवी थापा र भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले शोक वक्तव्य जारी गर्दै यादवले पहलवानीको क्षेत्र र नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदान स्मरणीय रहने बताउनु भएको छ । स्व. यादवको आजै पैत्रिक बस्ती हरिनमरीकै बिग्ही नदी तटमा अन्तिम संस्कार सम्पन्न भएको छ । यादवका पत्नी, तीन छोरी, एक छोरा र नातिनातिनी एबं पनातिपनातिनी रहेका छन् ।

२०८० माघ ४, बिहीबार २०:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय