
महोत्तरी, २८ माघ । सन्तानको सफलतामा बाबुआमा खुशी हुनु त छँदैछ, अहिले महोत्तरीको मटिहानी-८ स्थित श्रीराम माध्यमिक विद्यालयकी ११ कक्षाकी छात्रा हीना खातुनको सफलतामा बाबुआमामात्र नभई टोलबासी नै दङ्ग छन् ।
विद्यालयकी वाणिज्य सङ्कायकी छात्रा हीना कक्षागत पठनपाठनका अतिरिक्त सिर्जनात्मक गतिविधिमा बाक्लै सरिक हुने गर्छिन् । पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास (महोत्तरी) कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन’ विषयक निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि उनको घर बस्ती मटिहानी-७ मा खुशीको माहोल बनेको हो ।
“हीनामा सामाजिक उत्तरदायित्ववोध छ, केही गरौं भन्ने हुटहुटी छ” हीनाबारे सो बस्तीका महमद इसराफिल राइन भन्नुहुन्छ, “उनी पढाइमा मात्र हैन, सामाजिक जिम्मेवारीका काममा पनि अब्बल छिन् ।” मटिहानी नगरपालिकाले निरक्षर उन्मुलनका लागि तथ्याङ्क सङ्कलनमा खटाइएकी हीना आफ्नो जिम्मेवारीक्षेत्रका घरघर पुगेर काम गरीरहेकी इसराफिल बताउनुहुन्छ ।
“हीनाले आज प्रथम पुरस्कार प्राप्त गर्दा हामी खुशी छौं , यिनी हाम्रो बस्तीकी रत्न हुन्” मटिहानी नगर कार्यपालिकाको कार्यालयको सूचना शाखामा कार्यरत इसराफिल भन्नुहुन्छ, “सकारात्मक सोच र निरन्तर कृयाशीलता हीनाका अब्बल पक्ष हुन् ।
सामान्य मुस्लिम परिवारकी छोरी हीनाले प्राप्त गरेकी प्रत्येक सफलता पिता मोस्लिम कवारी र माता कुशमा खातुनका लागि विशेष हुन्छन् । “हामीलाई त लेखपढको त्यति थाहा हुँदैन, टोलछिमेक र ओरपरका आफन्तले ‘तिम्री छोरी फष्ट भइन् नि’ भन्छन् , हामी (पति/पत्नी) दङ्ग हुन्छौं” मोस्लिम भन्नुहुन्छ “यो छोरीले हाम्रो नाउँ रोशन गर्छे भन्ने लाग्छ ।” हीना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम भएकी हुन् ।
आयोगको बर्दिबास कार्यालयले आफ्नो कार्यक्षेत्रका नौ जिल्लाभित्रका माध्यमिक तहका विद्यार्थीबीच आयोजना गरेको निबन्ध प्रतियोगितामा हीना प्रथम भएकी हुन् । हीनाले यो सफलतामा आज प्रमाणपत्र र १५ हजार राशीको नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा महोत्तरीकै लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय जलेश्वरकी छात्रा स्नेहाकुमारी राउत द्वितीय र सिन्धुलीको तीनपाटन गाउँपालिकाको लाम्पन्टारस्थित माध्यमिक विद्यालय लाम्पन बतासेकी छात्रा प्रकृति श्रेष्ठ त्रितीय भएकी आयोगको बर्दिबास कार्यालयले जनाएको छ । उत्कृष्ट प्रतियोगीलाई मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज आइतबार जनकपुरधाममा आयोजित समारोहमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
आयोगको बर्दिबास कार्यालयक्षेत्रमा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, खोटाङ्ग र सोलुखुम्बुसहित नौ जिल्ला छन् । निबन्ध प्रतियोगितामा नौ जिल्लाभित्रका माध्यमिक तहमा अध्ययनरत ९२ जना विद्यार्थी सहभागी भएका आयोग कार्यालय बर्दिबासले जनाएको छ ।