महोत्तरी : पछिल्ला १२ दिनदेखि सुत्न नपाएका महोत्तरीको मटिहानी-६ जरलहवागाछी बस्तीका अग्निपीडितका लागि अब खाट (पलङ्) को प्रबन्ध भएको छ ।

यसअघि तयारी खानेकुरा (चिउरा, दालमुठ, मुरी, चाउचाउ), खाद्यान्न (चामल, दाल, खानेतेल, नुन र अन्य मरमसला) र आवश्यक भाँडाकुडा सहयोगबाट जुटेपनि सुत्न नपाएका सो बस्तीका १०३ परिवार अग्निपीडितलाई आज आइतबार जमिअत उलमाए नेपाल महोत्तरी शाखाले खाट उपलब्ध गराएको हो । पीडित परिवारका लागि सहयोगी संस्थाले उपलब्ध गराएका खाट मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, जमिअत उलमाए नेपालका केन्द्रीय सदस्य मसीहुल्ला र महोत्तरी शाखाका अध्यक्ष शेख महीयुद्दिनले संयुक्त रूपमा प्रदान गर्नुभएको हो ।

गएको यही वैशाख १२ गते बुधबार दिउँसो सो बस्तीका १०३ परिवारका ११० (गोठ र भान्सासमेत) घर जलेर खरानी भएका थिए । घरका कुनै सामान बचाउन नपाएर विचल्लीमा परेका परिवारलाई चौतर्फा जुटेको सहयोगले खान, फेरफार लुगा र भाँडाकुँडा तत्काललाई पर्याप्त जुटेपनि सुत्ने र ओतको प्रबन्ध अझै हुनसकेको थिएन ।

आपद्मा परेका बेला उदार मनका व्यक्तिव्यक्तित्व र सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले अब बाँच्ने आश पलाएको सो बस्तीका अग्निपीडित बताउँछन् । “खाएवाला सामान, किछ लत्ताकपडा आ भाडावर्तन सहयोग स भेटल अई, अई सामान स किछ महिना गुजारा भजायत” (खानेकुरा, फेरफार लुगा र भाँडाकुँडा पाएका छौं, यसले एकाध महिना गुजारा चल्छ) बस्तीकी अग्निपीडित लखनदेवी भन्नुहुन्छ, “सुतके लेल आई चौकी भेटल, आब ओढ्नी, बिछावनसँगे घर बैनजैतै त फेरु स दुखधनियाक काज सुरु होयतै” (सुत्न खाट आज पायौं, अब आढ्ने, ओछ्याउने र ओतिने घर बन्नसके फेरि जीवनका दुःखसुखका काम सुरु हुन्थे) । आफुहरु आपद्मा परेका बेला प्राप्त सहयोगले बाँच्न सिकाएको बस्तीका पीडित परिवारको भनाइ छ ।

दिनहुँ बहने तातो हावा र प्रचण्ड गर्मीको राप सहदै आएका बस्तीका अग्निपीडतमा अब सहयोग जुट्दै जाने आश भने पलाएको छ । सामान्य नै भएपनि घरको ओत पाए अरु दुःखसुख चल्दै जाने पीडित बताउँछन् ।

आफ्नो नगरका १०० भन्दा बढी घर जलेर खरानी भएका बेला विभिन्न व्यक्तिव्यक्तित्व र सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोग ठूलो भरोसा बनेको नगरप्रमुख मण्डलको भनाइ छ । भइरहेका सहयोग र प्रदेश तथा केन्द्र सरकारसँग जारी समन्वयले पीडित परिवारलाई घर र अन्य सहयोग चाँडै दिनसकिने आश जागेको मण्डल बताउनुहुन्छ ।

२०८१ बैशाख २४, सोमबार १५:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय