
मानवीय समवेदना कुनै सीमाले बाधिन्नः राज्यमन्त्री थापा
गोपाल बराल
महोत्तरी, २९ वैशाख ।
महोत्तरी जिल्लाका सामाजिक सङ्घसंस्थाले सर्लाही जिल्लाका अग्निपीडित परिवारलाई राहत सहयोग पुर्याएका छन् । मधेश प्रदेश सरकारमा गृह, कानुन तथा सञ्चार राज्यमन्त्री रहनुभएकी रोटरी क्लव अफ बर्दिबासका सदस्य शारदादेवी थापासहितको टोलीले आज शनिबार सर्लाहीका २१ परिवार अग्निपीडितलाई २७ प्रकारका राहत सामग्री राखिएको ‘निलो बाकस’ वितरण गरेको हो ।
“भइपरि आउने आपदविपद्मा गरिने सहयोग कुनै भूगोल वा अन्य सीमारेखामा बाधिन्न” राज्यमन्त्री थापाले भन्नुभयो, “सर्लाहीलाई आपद्पर्दा महोत्तरी सहयोगमा उभिनुपर्छ, यही आदर्शले रोटरी क्लव अफ बर्दिबासको टोलीले सर्लाहीका अग्निपीडितलाई राहत दिने निधो गरेको हो ।” यो राहत सर्लाहीका हरिपुर्वा नगरपालिका-६ का पाँच, बसबरिया गाउँपालिका-३ का १३ र वागमती नगरपालिका-४ का तीन परिवारलाई दिइएको छ ।
राहत सामग्रीको ‘निलो बाकस’ मा अग्निपीडित परिवारलाई तत्काल जरुरी पर्ने २७ प्रकारका सामान छन् । जसमा पाल टाङ्ने त्रिपाल, फेरफारका तौलिया, खाना पकाउने भाँडा, खाने प्लेट, गिलास, पानी शुद्धिकरण गरिने फिल्टर, बाल्टिन, मर्मतसम्भारमा काम गरिने साधारण औजारहरु हतौडा, बेल्चा, पिलास र काँटीसहितका सामग्री रहेका वितरणस्थलमा रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमले एकएक गर्दै देखाएर चिनाउनुभयो । ‘निलो बाकस’मा ससाना विद्यालय जाने बालबालिकाका लागि कापी, कलम, पेन्सिल र खेल्नेसहितका शैक्षिक सामग्री पनि छन् ।
सर्लाहीको हरिपुर्वा-६ मा यही वैशाख १३ गते पाँच घर, बसबरिया-३ मा वैशाख १४ गते १३ घर र वागमती-४ मा यसै वैशाख १९ गते तीन घर आगलागीमा परेर सखाप भएका हुन् । आपद्का बेला मानवीय सहयोगका लागि जेजति सकिन्छ , त्यसै रुपमा उभिन पुग्नपर्छ भन्ने वोधले आपूmहरु सर्लाहीका अग्निपीडितको दुःखमा साथ रहेको सन्देस दिन घटनास्थल पुगेको अध्यक्ष गौतमले स्पष्ट पार्नुभयो । यी सामग्री रोटरी क्लव अफ जापानका साथीहरुले नेपाल शाखालाई उपलब्ध गराएपछि आपूmहरुको जिम्मामा आएको गौतमले जानकारी दिनुभयो ।
सर्लाहीको यो आगलागीमा अत्यन्त गरिब परिवार परेका छन् । आपूmहरुलाई आपद् परेका बेला सामानभन्दा पनि दुःखमा भावना एकाकार गर्न महोत्तरीबाट आएको टोलीको उपस्थितिले मन दरो बनाउन ढाडस मिलेको हरिपुर्वा-६ की कविता बैठाले बताउनुभयो । प्राप्त राहत सामग्रीले आपूmहरुलाई तत्कालका आवश्यकता टार्न सहयोग पुगेको अग्निपीडितको प्रतिकृया छ ।