महोत्तरी : पानीबेगरको बडहरी खोला लमतन्न । वारी (पश्चिमपट्टी) महोत्तरीका बर्दिबास -७ प्रेमनगर र भङ्गाहा-४ को रामनगर , पारी (पूर्वपट्टी) धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर । वारीपारी जता हेर्‍यो आँपका बगान (बगैंचा)। आँपको यही पकेटक्षेत्रमा आज शुक्रबार चित्रपुरमा आयोजित आँप मेला अर्थात आँप महोत्सव सम्पन्न भएको छ ।

जता हेर्‍यो रङ्गीविरङ्गी ढकीमा आँपैआँप । ढकीढकीमा सजाएर राखिएका विभिन्न थरिका आँप । मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका , स्वणर्रेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतिया । सजाएर राखिएका ढकी मुनि आँपका जातका नाउँ छन् । महोत्सवका दर्शक थरिथरिका आँपको स्वाद लिन व्यस्त । आँप उत्पादक किसानले भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् ।

आँप उत्पादनको पकेटक्षेत्र भएपनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि बटेश्वर-१ का किसानले आज आँप मेला आयोजना गरेका हुन् । “हाम्रो मुख्य फसल यही (आँप) हो, तर न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर” महोत्सवको अवलोकन गरीरहनु भएका मधेश प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भन्नुभयो, “लौ न, हाम्रा कुरा पनि सुनियुन् ।”

महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी/धनुषाका सञ्चारकर्मीहरु , उद्योगी/व्यवसायी , विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, ब्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहोर्‍याएका छन् ।

“उत्पादनको पकेटक्षेत्रमै मेला महोत्सव गरेर तपाईँहरुलाई आफ्नो व्यथा सुनाउन चाहेका हौं” अर्का ६५ वर्षीय किसान रामगुलाम महतोले भन्नुभयो, “यहाँ पत्रकाहरु पनि हुनुहुन्छ क्यार, हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाइ दिनुस् ।” आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पुर्‍याउन नसके रुखबाट झरेर सड्छन् । त्यसैले केही दिन आँप थन्क्याएर पछि भाउ पाउने गरी बेच्न चिस्यानघरको जरुरी भएको रामगुलामको भनाइ छ । चिस्यानघरको प्रबन्ध भएमात्रै पनि निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन् ।

मेलाको आयोजना नै यहाँको आँप बगैंचा देखाउन, यहाँको आँपको स्वाद पाहुनालाई चखाउन, होटल व्यवसायी र ब्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेटक्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फुलगेन मगहीले स्पष्ट पार्नुभयो । मेलामा अवलोकनकर्तालाई देखाउन र चखाउन लहरै सयौं ढकीमा आँप राखिएको छ । “आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैंचा देखाउन र यहाँका थरिथरिका आँप चखाउन आयोजना गरिएको हो” मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भन्नुभयो ।

मेलामा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विभिन्न जातका आँपको मेला र बगैंचा अवलोकन गरेका छन् । यसैगरी दुबै जिल्लाका सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति देखिएको छ । एक दिने यो मेलाले आँपको कुरामा हाम्रो ठाउँबारे चर्चामात्र भएपनि यसबारे पारखीहरुको चासो बढ्ने वटेश्वर-१ का वडाअध्यक्ष अशोककुमार महतो बताउनुहुन्छ ।

यहाँका बगैंचामा बोटबोटमै आँपका जातका नाउँ लेखेर टासिएका छन् । अवलोकनकर्ताले मेला र बगैंचाको अवलोकन गर्दा लेखिएको नाउँबाट नै आँपको जात थाहा पाउँछन् ।

असारे-१५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ । यहाँ उत्पादित आँप नजिकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पुर्‍याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताउनुभयो ।

यस भेगको माटोमा उत्पादित आँप विशिष्ट स्वाद र सुवासयुक्त हुँदा यसबारे प्रचारप्रसार हुनसके यहाँको उत्पादनको बजार बढ्ने मधेश प्रदेशसभा सदस्य शारदा पहाडीले बताउनुभयो । आपूmले यहाँका किसानका गुनासा प्रदेश सरकार मुख्यमन्त्री, कृषि मन्त्री र प्रदेशसभासम्म पुर्‍याउने पहाडीले प्रतिबद्धता जनाउनुभयो । यसैगरी अन्य अवलोकनकर्ता होटल/पर्यटन व्यवसायी, ब्यापारी र उपभोक्ताले पनि यहाँको आँपको स्वाद विशिष्ट रहेको प्रतिकृया दिदै आपूmहरुको रोजाइमा यहाँको आँप पर्ने बताएका छन् ।

मेला अवलोकनकर्ताको वास्ता र चासोले यहाँका किसानलाई उत्साहित बनाएको छ । किसानहरु यसैपालि आउने भदौ अन्त्यसम्म यहाँ आँप रहने र पछिपछिका वर्षमा पनि आफ्ना उत्पादनको खोजी हुने आसमा दङ्ग देखिन्छन् ।

२०८१ असार १५, शनिबार ०९:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय