महोत्तरी : आज असारे-१५ पर्व । तर महोत्तरीका किसानमा कुनै उत्साह छैन । सामान्यतया धानको शाही रोप (बीउ रोप) अधिकांश सकेर यो पर्व मनाउने परम्परा भएपनि यसपालि पानीबेगर रोपाइँ नभएपछि यहाँका किसानलाई चाडवाडको उल्लासले छोएको देखिदैन । रोपाइँँबेगरको पर्व आम किसानका लागि निरस बनेको छ ।

समयमा पानी नपर्दा धानको ब्याड राख्न नपाएका किसानलाई यसपालि असारे-१५ भन्दा अबको गुजाराको चिन्ता छ । जिल्लाकै मुख्यबाली मानिने धान लगाउन नपाएपछि यसपाली पर्वको भन्दा अन्नको सङ्कट पर्ने चिन्ताले किसान पिरोलिएका छन् ।

“तिथि, गते र बार पारेर आउने चाडवाड त आइहाल्दा रहेछन्” भङ्गाहा-४ रामनगरकी किसान दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “धान रोपेर मनाइने चाड एउटा गब (रोप्दै नरोपिएको, एउटा बीउ पनि नरोपिएको) नै नलागेपछि असारे-१५ को के खुशी हुनु ।” कादो गरिएको (हिल्याइएको खेत) मा छुपुछुपु धान रोपेर साथीसहेलीबीच आँप, चिउरा र दही खाएर रमाइलो गरिने परम्पराको यो पर्वमा यसपालि किसानको मुहारमा खुशी नभएर चिन्ता छ ।

सामान्यतया यहाँ जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने , असार तेस्रो साताभित्र शाही रोप सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । तर यसपालि पानीबेगर समयमा ब्याड नै राख्न नपाएपछि यो तालिका पूरै खजमजिएको किसान बताउँछन् । शाही रोप असार तेस्रो सातामा सकिने तालिकाअनुसार असार १५ भित्र रोपाइँ कमसेकम ५० प्रतिशत भइसक्नु पर्ने मानिन्छ । धेरैजसो बीउ रोप सकेपछि असारे-१५ उल्लाससाथ मनाएर बाँकी रोपाइँ गरिदा किसानको अनुहारमा खुशीको चमक देखिन्छ । तर यसपालि धेरैजसोले बीउ नै लाग्दो असारकोे पानीमा धुले ब्याड राखेका हुँदा अहिले बीउ तयार नहुँदा दुई दिनअघि पानी परेपनि रोपाइँ हुन नसकेको बर्दिबास-१२ चल्कीका किसान ओहिद राइनको भनाइ छ ।

तीनै तहका सरकारका कार्यक्रम र बजेटमा कृषिको निकै चर्चा भएपनि यसको प्रतिफल आधारभूत तहका किसानसम्म पुगेको छैन । “न खेतमा पानी छ, न समयमा मलखाद बीउ पाइन्छ, न भरपर्दो बजार नै” सोनमा-६ का रामरतन राय यादव भन्नुहुन्छ, “खै यिनका कार्यक्रम र बजेटमा केको कृषि चर्चा हो ।” कृषिमा किसानलाई दिइने सुविधाका घोषणामा ठूलाबडाकै रजाइँ चलेको आम किसान बताउँछन् । यही वेथितिले खेतीको आकर्षण घटेको कृषि विज्ञसमेत स्वीकार्छन् । मुख्य मेहनत गर्ने किसानसम्म सहुलियत नपुगेपछि निरासा बढेको लामो समय कृषिक्षेत्रको सरकारी सेवाबाट हाल निवृत हुनुभएका भङ्गाहा-६ सग्रामपुरका बासिन्दा कृषिविज्ञ जासर यादवको भनाइ छ ।

 

“भनेको चाहिएको बेला बीउ नपाएर ढिलो भयो, अहिले पानी त छ्याछुप छ, बीउ तयार छैन, बीउ तयार भए जन (मजदुर) पाइदैनन्, यो खेती गर्ने दुख्याहा कर्म रहेछ” बर्दिबास नगरपालिका-६ का बलराम कार्की भन्नुहुन्छ, “पर्व मनाउने कुरा त घरमा बसेर आँप, चिउरा खानु त रह्यो ।” असार-१५ उत्सवमय मनाउने पर्वते परम्पराको यो पर्व यसपालि रोपाइँ नचल्दा निरस बनेको कार्की बताउनुहुन्छ ।

उमेरले ५० वर्ष कटेकाहरु प्हिलेपहिलेको असारे-१५ पर्वको रउस (रमाइलो) सम्झन्छन् । जताततै रोपाइँको रमझम । रोपारहरुको असारे भाका । पछिपछि पानीको अभाव बढेसँगै पछिल्लो पुस्ता खेतीपातीबाट टाढिदै गएपछि यस्ता कृषि पर्व ओझेलमा पर्दै गएका पाका किसानको भनाइ छ । “हिल्याइएको खेतमा असारे गीतको लयमा रोपाइँको उत्सव मनाउने कुरा त अब पहिलेका कथा भनेर पछिल्लो पुस्तालाई सुनाउनेसम्म मात्र रह्यो” भङ्गाहा-५ सीतापुरका ९० वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, “अब त न रहर देखिन्छ, न रउस नै ।” आपूm तन्नेरी हुँदा असारे-१५ मनाउन केही दिन पहिलेदेखि नै तयारी हुने गरेको भुजेलको सम्झनामा ताजै छ । सिँचाइ र कृषि सामग्रीको अभाव र पछिल्लो पुस्ता खेती छाड्दै कामका लागि बिदेसिने क्रम बाक्लिएपछि पर्व परम्परा हराउँदै गएको भुजेलकै छिमेकी ८५ वर्षीय शालिग्राम ढकाल बताउनुहुन्छ ।

यसअघिका वर्षमा असार १५ भित्र धान खेती गरिने जिल्लाको कूल क्षेत्रफलमध्ये आधाजसोमा रोपाइँ भइसक्ने गरेको भएपनि यसपालिभने धान रोपाइँ पछि परेको छ । राज्यले असार-१५ लाई धान दिवसका रुपमा मनाउने कुरा पनि तामझाममै सिमित हुने किसान बताउँछन् । महोत्सवकै रुपमा मनाइने असारे-१५ को जिवन्तता हराउँदै गएको पाका किसानको गुनासो छ । पछिल्ला केही वर्षयता जनमनको भन्दा पनि असारे-१५ कर्मकाण्डी पर्व बन्ने गरेको बर्दिबास-१० खयरमाराका ७५ वर्षीय किसान चन्द्रलाल गौतम बताउनुहुन्छ । “ठूलाबडा हाकिम जम्मा भएर बीउ हातमा लिएर फुटा (फोटो, तस्बिर) लिएपछि असारे-१५ भयो” गौतम भन्नुहुन्छ, “किसानको मन रोएको हेर्ने कसलाई फुर्सद !”

चुरे पाहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन् बढ्नु र वन मासिदै गएर सन्तुलित वर्षा हुन छाडेको , जलाधारक्षेत्र मासिदै गएका , जताततै मसालाका रुखले जग्गा मरुभूमि बन्दै गएका र पानीका स्रोतका मुहान मासिने, सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि समयमा खेती लगाउन पाइने कुरा हराउँदै गएको हो । यो प्रतिकूलताले बर्सेनि धान खेतीको क्षेत्रफल घट्दै गएको गौतमको भनाइ छ ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ । जिल्लामा स्थायी कुलो/नहरको पहुँच १० प्रतिशत जग्गामा मात्र हुँदा अधिकांश खेतीको भर आकासे पानीमै छ । सिँचाईको प्रबन्ध नहुनुसमयमा बीउ, मलखाद नपाउनु , किसानले फसलको उचित मूल्य नपाउनु र कृषि जनशक्ति क्रमशः बाहिरिदै जानुले बर्सेनि धान खेतीको क्षेत्रफल घट्दै गएको छ । महोत्तरीमा यसपालि असार १५ भित्र मुस्किलले १० प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । अब रोपिने धानको खरुअन रोप नभ्याइने हुँदा पछि राम्रो पानी परेपनि अपेक्षित धान रोपाइँ नभ्याइने किसान बताउँछन् ।

जिल्लाकै मुख्य अन्नबाली मानिएको धान रोपाइँ हुन नसकेपछि यसपालि अन्नको हाहाकार पर्ने छाँट देखिएको बुढापाका लख काट्दै गरेका भेटिन्छन् । कृषि विज्ञहरु भने धान रोपार्इँका लागि अहिले समय बाँकी रहेकाले आत्तिने बेला भइनसकेको बताउँछन् । साउन पहिलो सातासम्म रोपिएको शाहीरोपको धान राम्रै फल्ने भएकाले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको कृषि क्षेत्रकोे सरकारी सेवाबाट निवृत हुनु भएका भङ्गाहा-६ सग्रामपुरका राजकिशोर यादव बताउनुहुन्छ । साउन पहिलो सातासम्म रोपाइँ गर्न नसकिदा भने अन्य बाली लगाउने तयारी गर्न भने विज्ञले किसानलाई सुझाएका छन् ।

२०८१ असार १५, शनिबार १२:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय