नेपालवाणी नेटवर्क
जनकपुरधाम, अषाढ ।

धनुषाको शहिदनगर नगरपालिकामा मेयर उदय कुमार यादव बरबरिया सहित कर्मचारीहरुलाई विशेष अदालतले सफाई दिएको छ । शहिदनगर नगरपालिकाको सेनेटरी प्याड खरिदमा भएको भ्रष्टाचार मुद्दामा आंशिक ठहरको फैसला गर्दै मेयर–उपमेयर सहित कर्मचारीलाई सफाई दिएको छ भने ठेकेदारलाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष २० फाल्गुनमा नौ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । जसमध्ये सबै कर्मचारीलाई सफाइ दिने फैसला भएको छ भने ठेकेदार दोषी ठहर भएका छन् । अनुसन्धानपछि खरिद सम्झौता भन्दा ६ दिनअघि नै भुक्तानी भएको भेटिएको थियो ।

प्याड खरिदका लागि १३ फागुन ०७७ मा १३ लाख ९३ हजार रुपैयाँ नगरपालिकाले ठेकेदार कम्पनी रेजा ट्रेडिङ प्रालिका नाममा भुक्तानी गरेको थियो । साथै, सिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको र सम्झौता हुनुअगाडि नै आपूर्ति भइसकेको अनुसन्धानबाट खुलेको थियो । यसैगरी, नगरपालिकाको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २२ माघ ०७७ को रेजा टुडे राष्ट्रिय दैनिकमा कतै पनि सूचना प्रकाशित भएको थिएन । केवल नगरपालिकामा पेस भएको एउटा पत्रिकामा मात्र उक्त सूचना थियो।

पत्रिकाका प्रकाशक तथा ठेकेदार मन्सुरलाई विशेषले ६ महिना कैद सजाय सुनाएको छ । साथै, १३ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने उक्त रकम नगरपालिकाले असुलउपर गर्न पाउने फैसलामा छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो ।

सफाइ पाएका प्रतिवादीहरूका हकमा खरिद प्रक्रियामा उनीहरूको बदनियत नदेखिएको विशेषको निष्कर्ष छ । विशेषले तयार गरेको संक्षिप्त फैसलामा भनिएको छ, ‘…तर कानुनी त्रुटि गरेको देखिए तापनि सामान्य कार्यविधिगत त्रुटि आफैँमा भ्रष्टाचारजन्य फौजदारी कसुर मान्न न्यायोचित नदेखिँदा निज प्रतिवादीहरुलाई यस प्रकारको खरिद सम्बन्धी कार्य प्रक्रिया अपनाउँदा अनिवार्य रुपमा कानुनद्वारा निर्धारित प्रक्रिया अवलम्बन गर्न सचेत गराउँदै सबै प्रतिवादीले आरोप दाबीबाट सफाइ पाउने ठहर्छ ।’

पत्रिकाको प्रकाशकसँगको मिलेमतोमा झुठा विवरण तथा कागजात तयार गरी बदनियतपूर्वक खरिद सम्झौता र भुक्तानी दिएको भन्दै मुद्दा दर्ता भएको थियो। जसमा तत्कालीन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शीलादेवी कापरसमेत प्रतिवादी थिए । उनीहरु दुवैले सफाई पाएको छ ।

यसैगरी, यस मुद्दामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप भट्टराई, सबइन्जिनियर सरोजकुमार महतो र स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारीलाई पनि प्रतिवादी बनाइएको थियो। श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार र ठेकेदार कम्पनी रेजा ट्रेडिङ प्रालिका सञ्चालक मन्सुर विरुद्ध पनि मुद्दा चलाइएकोमा केवल मन्सुर दोषी ठहर भएका हुन् ।

उनले आफ्नै नाममा दर्ता फर्मसँग ठेक्का पार्नका लागि नगरपालिकाको सूचना वास्तविक रुपमा प्रकाशित नै नगरी सो सूचना प्रकाशित गरेको भनी झुठा बेहोराको सूचना आफैँले प्रकाशन गर्ने पत्रिकाको प्रति पेस गरेको पुष्टि भएपछि सजाय सुनाइएको हो । आव २०७७–०७८ मा सेनेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । ससर्त अनुदान तर्फको सेनेटरी प्याड खरिदका लागि १९ फागुन ०७७ मा रेजा ट्रेडिङ प्रालिसँग नगरपालिकाले सम्झौता गरेकोमा अनियमितता भएको उजुरीमा उल्लेख थियो ।

२०८१ असार १७, सोमबार १९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय