बर्दिबास, २२ असार । राष्ट्रिय गौरवको आयोजना बर्दिबास मेडिकल कलेज निर्माण प्रकृयाले क्रमशः गति लिदैछ । यो प्रकृया अघि बढाउन करिब २० हजार विरुवा रोपिन थालेको छ । बर्दिबास-५ टुटेश्वरधाम नजिकै मरहा नदीउकास जग्गाको १२.२ हेक्टर जग्गामा आज शनिबार विभिन्न जातका बिरुवा रोपण थालिएको हो ।

कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिबास-४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका एक हजार ९६७ रुख कटान गर्नपूर्व सो सङ्ख्याको १० गुणा बढी रुख रोप्न पर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार आज वृक्षारोपण थालिएको हो । गत माघ ३ गते सोसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कलेज निर्माणका लागि प्रस्तावित ठाउँका रुख कटान गर्न राखेका सर्त पालना गर्दै काम अघि बढाउन मन्त्रीपरिषदले स्वीकृति दिएको थियो । त्यसअघि वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले २०८० जेठ २९ गते खारेज गरेको थियो ।

“हामीले सर्वोच्च अदालत र मन्त्रीपरिषदको निणर्यबमोजिम काम अघि बढाउन आज वृक्षारोपण थालेका छौं” बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय बर्दिबासका प्रमुख देवीप्रसाद सुवेदीले भन्नुभयो, “यस कार्यमा सम्बद्ध क्षेत्रका प्रतिनिधिसभाका सदस्य लक्ष्मी महतो कोइरी, प्रदेशसभाका सदस्यहरु, बर्दिबास नगरपालिकाका सबै जनप्रतिनिधि,स्थानीय राजनीतिक दलहरु, सामाजिक सङ्घसंस्था र बर्दिबासका आम नागरिक समाजको सकृय सहभागिता छ, हामी पाँच दिनभित्र १९ हजार ६७० बिरुवा रोपण गरेर तारबारको घेरा लगाइसक्छौं ।” वृक्षारोपण र घेराबेराको काम सकिनासाथ कलेज निर्माणको प्रकृया अघि बढ्ने सुवेदीको भनाइ छ ।

कलेज निर्माणका लागि जेजति सर्त छन् , तिनलाई सम्बोधन गरिदै काम अघि बढाउन अठोटका साथ लागिएको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षेत्रीको भनाइ छ । “अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन खासै अड्चन छैनन्, एकपछि अर्को काम गर्दै हामी अघि बढेका छौं” नगरप्रमुख क्षत्री भन्नुहुन्छ, “मेडिकल कलेज निर्माणको कुरामा सबै राजनीतिक दलबीच सम्पूणर् एकता छ, अब कलेजका पूर्वाधार निर्माणका कामले गति लिनेछन् ।”

आज झमझम पानी परीरहेबीच वृक्षारोपण कार्यमा प्रतिनिधिसभा सदस्य कोइरी, मधेश प्रदेश सरकारका शिक्षा संस्कृति राज्यमन्त्री शारदा थापा, बर्दिबास नगरक्षेत्रमा कृयाशील सबै राजनीतिक दलका प्रतिनिधि, १०० भन्दा बढी सामाजिक सङ्घसंस्थाका अगुवा र सयौंको सङ्ख्यामा आम सर्वसाधारणको सहभागिता रह्यो ।

कलेज निर्माणको प्रस्तावित जग्गामा काटिने रुखका कारण पर्यावरणमा पर्नसक्ने कुप्रभाव रोक्न बर्दिबास नगरपालिकाले दुई वर्ष पहिलेदेखि नै सघन वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । यसअवधिमा नगरक्षेत्रमा ३० हजार भन्दा बढी बिरुवा रोपिएका र ती हुर्कदै गरेका नगरप्रमुख क्षत्रीको भनाइ छ । “हामीले यसअघि पनि वृक्षारोपण गर्दै आएका छौं, अहिले फेरि २० हजार बिरुवा रोपण थालेका छौं” क्षत्री भन्नुहुन्छ, “रोपिएका बिरुवाको संरक्षणका उपाय अवलम्बन गरेका छौं,अबका केही वर्षभित्रै बर्दिबास नगरक्षेत्र जताततै हराभरा देखिने छ ।”

यता सरकारले एक हजार ९६७ रुख कटानको स्वीकृति दिएपनि त्यसभित्र बढीभन्दा बढी रुख बचाउनतिर लागिने बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयका निर्देशक (प्रमुख) बताउनुहुन्छ । “सरकारले एक हजार ९६७ रुख काट्न स्वीकृति दिएको छ, तर त्यति रुख काटीदैनन्” सुवेदी भन्नुहुन्छ, “आयोजना एक हजार मुनिकै सङ्ख्याका रुख कटान गरेर काम अघि बढाउन सकिन्छ भन्ने विश्वासमा छ ।”

कलेज निर्माणको काम अघि नबढाउन २०७८ माघमा दर्ता भएको रिट सर्वोच्च अदालतले २०८० जेठ २९ गते खारेज गर्दै प्रस्तावित जग्गामा भएका रुख कटान गर्नअघि आयोजना (बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजना) ले काटिनेभन्दा १० गुणा सङ्ख्याका रुखका बिरुवा रोपण गर्ने, पाँच वर्षसम्म तिनको संरक्षण गर्ने र रोपिएका बिरुवाको वन तथा वातावरण मन्त्रालयबाट नियमित अनुगमनको सुनिश्चितता गर्न निर्देश गरेको छ । अदालतले रिट खारेजमात्र नगरेर निर्माण कार्य अघि बढाउन गरिन पर्ने कामबारे स्पष्ट निर्देश गरेका पक्षलाई स्पष्ट खुलाउँदै मन्त्रीपरिषदले यी सर्त पूणर्परिपालना गर्दै आयोजना निर्माणको काम अघि बढ्ने गरी गत माघमा स्वीकृति दिएको हो ।

“अब सरकारको निणर्यानुसार काम अघि बढ्न निर्माण लागतको बजेट व्यवस्थापन आवश्यक छ” आयोजना प्रमुख सुवेदी भन्नुहुन्छ, “आयोजना यसअघि अदालत र सरकारले खुलाएका सर्त पालना गर्दै काम बढाउन प्रतिबद्ध छ ।” रुख कटानको स्वीकृतिसँगै जग्गा प्राप्तिको कुरा टुङ्गिएपछि अब विस्तृत परियोजना प्रतिवेदन (म्एच् ) अनुसार काम क्रमशः अघि बढ्ने सुवेदीको विश्वास छ । अहिलेसम्म एक हजार सैयाको अस्पतालसहित कलेजको पूर्वाधार निर्माण गर्न ३० अर्ब ५४ करोड बजेट चाहिने आयोजना प्रस्तावमा उल्लेख छ । यद्यपि पछिल्लो पटक सैया सङ्ख्या घटाएर ६०० कायम गरी काम बढाइने निणर्य भएको सुवेदीले बताउनुभयो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा समावेश भई मुलुकका सातवटै प्रदेशमा एक/एकवटा मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार प्रदेश-२ (अब मधेश प्रदेश) मा बर्दिबास मेडिकल कलेज निर्माणका लागि क्रमशः प्रकृया अघि बढ्दै गएपछि यस भेगमा अब चाहिँ कामले गति लिने सर्वसाधारणले आस सँगालेका छन् ।

जग्गा छनौट समितिको सिफारिसअनुसार जग्गा छनौट, जग्गाको विस्तृत सर्वेक्षणसहित कलेजको गुरु योजना (मास्टरप्लान) , निर्माणस्थलको माटो परीक्षण र वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) सहितका प्राविधिक पक्षका काम सम्पन्न भएर जग्गाको भोगाधिकार लिने कुरा अड्केको थियो । सरकारले रुख कटानको स्वीकृति दिने निणर्य गरेसँगै योसँग जोडिएको सर्तअनुसार वृक्षारोपण गरिएपछि पूर्वाधार निर्माणको कामले गति लिने निर्देशक सुवेदीको भनाइ छ ।

विक्रम सम्वत् २०७५ साल फागुन-३ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबाट त्यसअघि नै स्वीकृत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि २०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गरेको थियो । यसअनुसार तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास-१ मा २०७६ साल वैशाख १८ गते उद्घाटन गर्नुभएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा अहिले आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत (रा प तृतीय शिक्षा सेवा) एक, इञ्जिनियर (सिभिल रा प तृतीय) एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एकसमेत सात जनाको जनशक्ति छ ।

कलेजका लागि प्रारम्भमा १०१ हेक्टर क्षेत्रफलको वनक्षेत्र प्रस्ताव गरिएपनि पर्यावरणीय पक्षलाई आत्मसाथ गरी विज्ञहरुको सल्लाहमा ५४.५८४ क्षेत्रफलमा झारिएको हो । भव्सी नदी पश्चिमी किनारमा आवागमनको पक्की (कालोपत्रे) सहितको तटवन्ध निर्माण गरी भूक्षय रोकिने, कमसेकम रुख काटिने गरी पूर्वाधार निर्माण गरिने, पूर्वाधार निर्माणक्षेत्रमा हरितपार्क बनाइने र मिथिला संस्कृति झल्कने सङ्ग्रहालयसहित जैविक विविधता संरक्षण गरिने आयोजना प्रस्तावनाको प्रतिबद्धता छ ।

मेडिकल कलेज बर्दिबासको मात्र नभएर मधेश प्रदेशकै राष्ट्रिय महत्वको आयोजना भएको हुँदा यसमा देखिएका अड्चन पर्गेल्दै अब अघि बढ्न सकिने महोत्तरीका वुद्धिजीवी बताउँछन् । “कलेजका अड्चन क्रमशः सम्बोधन हुँदै गएका छन् , अब मुख्य बजेट व्यवस्थापनको कुरा देखिएको छ” बर्दिबास-१४ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमाल भन्नुहुन्छ, “अब केन्द्र, प्रदेश र स्थानीयतहका राजनीतिक नेतृत्वले दुरदर्शी सोचका साथ यो प्रस्ताव अघि बढाउन संयुक्त पहलकदमी लिनुपर्छ ।”

अहिले ६०० सैैयाको आधुनिक प्रविधिको साधन सुविधायुक्त अस्पतालसहितको कलेजको पूर्वाधार निर्माणमा ३० अर्ब ागत लाग्ने विस्तृत परियोजना प्रतिवेदनको हालसम्मको अध्ययनले देखाएको छ । हालसम्म यस आयोजनामा सात करोडभन्दा बढी खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

२०८१ असार २२, शनिबार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय