बर्दिबास, ४ पुस ।

रक्तसञ्चार सेवाको मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको रेडक्रस बर्दिबास उपशाखाले रक्त सङ्कलनमा सहकार्य थालेको छ ।

यसअघि आफ्नो रक्तसञ्चार केन्द्र बर्दिबासबाट मात्र रक्त सङ्कलन गर्दै आएको उपशाखाले अब मधेश प्रदेश सरकारको रक्तसञ्चार केन्द्र र विभिन्न निकायसँगको सहकार्यमा रक्त सङ्कलन गर्न थालेको हो । पछिल्लो एक महिनाभित्र रेडक्रस बर्दिबास उपशाखाले मधेश प्रदेश सरकारको रक्तसञ्चार केन्द्रसँग दुई ठाउँ र नेपाल विद्युत प्राधिकरण कार्यालय मुजेलिया जनकपुरधामसँगको सहकार्यमा एक ठाउँ रक्त सङ्कलन शिबिर सम्पन्न गरीसकेको छ ।

रक्त सङ्कलन र सेवाग्राहीसम्म सहज पहुँच पुर्‍याइने मानवीय कार्यलाई अझ फराकिलो र प्रभावकारी बनाउन साझा अभियानले सहयोग पुग्ने रेडक्रस बर्दिबास उपशाखाको ठम्याइ छ । “यो सहकार्य मानवीय सेवाप्रति समर्पित छ” उपशाखा सभापति रेवन्त कार्की ‘सुदीप’ भन्नुहुन्छ , “यो सहकार्यले हाम्रा कामलाई विस्तार गर्दै लग्नेछ ।” सभापति कार्कीले प्रादेशिक रक्त सञ्चार केन्द्रसँग महोत्तरीको गौशाला-७ फुलकाहा र धनुषाको महेन्द्रनगरमा रक्त सङ्कलनमा सहकार्य गरिएको स्पष्ट पानुभयो । यसैगरी नेपाल विद्युत प्राधिकरण जनकपुरधाम कार्यालयसँग मुजेलियामै संयुक्त रक्त सङ्कलन शिबिर बर्दिबास उपशाखाले सम्पन्न गरेको छ ।

मधेश प्रदेश सरकारको रक्तसञ्चार केन्द्रसँगको सहकार्यले आपदकालीन रगतको आवश्यकता परिपूर्तिमा सहयोग पुग्ने र सेवाग्राहीलाई दिइने सेवामा पनि आपसी सहकार्य र समन्वय बढ्ने रेडक्रस बर्दिबास उपशाखाको विश्वास छ । सभापति कार्कीले प्रादेशिक रक्तसञ्चार केन्द्रले रक्त सङ्कलन कार्यमा सहजताका लागि रक्त भण्डारण बाकस र अन्य प्राविधिक सहयोग गर्दै आएको स्मरण पनि गर्नुभयो ।

बर्दिबास रेडक्रस उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट महोत्तरी, धनुषा, सर्लाही, सिरहा र सिन्धुलीसम्मका अस्पतालका बिरामीले रगतको सेवा पाउँदै आएका छन् ।

२०८१ पुष ४, बिहीबार १७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय