रामईश्वर ठाकुर, 
बर्दिबास, १ जेठ । आफ्नो १४ औ वार्षिकाेत्सवका अवसरमा बर्दिबासस्थित बर्दिबास वचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेकाे छ । वार्षिकाेत्सवका अवसरमा आज बिहीबार सहकारीकै सभाहलमा आयोजित कार्यक्रममा संस्थाका सेयर सदस्य र कर्मचारीसहितले २० प्रिन्ट रक्तदान गरेका हुन् ।

संस्थाकाे वार्षिकाेत्सवका अवसरमा जनहितकारी रचनात्मक कार्यक्रम गर्न रक्तदान राेजिएकाे सहकारीका प्रबन्धक रमेशबहादुर सिंहले जानकारी दिनुभयाे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी बर्दिबास उपशाखाले प्राविधिक सहयाेग गरेकाे हाे ।

संस्थाले वार्षिकाेत्सवकै अवसरमा बर्दिबास-२ बुद्धचाेकस्थित जनजागृति राष्ट्रिय आधारभूत विद्यालय र बर्दिबास-१४ हटियास्थित राष्ट्रिय आधारभूत विद्यालयमा दुई/ दुई थान विद्युतीय पङ्खा प्रदान गरेकाे छ । बढ्दाे गर्मीमा संस्थाबाट प्राप्त पङ्खाले निकै राहत हुने दुबै विद्यालयका शिक्षककाे प्रतिकृया छ ।

बर्दिबास वचत तथा ऋण सहकारी संस्था यस भेगमै उत्कृष्ट सहकारी मानिन्छ । मधेश प्रदेशमै उत्कृष्ट सहकारीका रुपमा याे सहकारी पुरस्कृत भइसकेकाे छ ।

बर्दिबासका सहकारी र वित्तीय संस्थाहरुमा विशेष समाराेहका अवसरमा रक्तदानकाे संस्कृति बसेकाे रेडक्रस बर्दिबास उपशाखाले जनाएकाे छ । सहकारी संस्था र वित्तीय संस्थाहरुमा बढेकाे याे संस्कृतिले आम समुदायलाई पनि रक्तदान गर्न अभिप्रेरित गर्ने गरेकाे रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का बताउनुहुन्छ ।

 


२०८२ जेष्ठ १, बिहीबार १३:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय