
बर्दिबास (महोत्तरी), २४ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विपन्न परिवारका छात्रछात्रालाई अध्ययनका लागि छात्रवृतिको अवसर मिल्ने भएको छ । महोत्तरीको बर्दिबास नगरक्षेत्रका कक्षा ११, १२ सञ्चालनमा रहेका माध्यमिक विद्यालयमा पढ्न पद्मशमशेर स्मृति प्रतिष्ठानले छात्रवृतिको घोषणा गरेको हो ।
यसअघि प्राविधिक शिक्षा र स्नातकतहका लागिमात्र छात्रवृति दिदै आएको प्रतिष्ठानले यसपालि कक्षा ११ मा भर्नाका लागि छात्रवृतिको घोषणा गरेको छ । यसअनुसार बर्दिबास नगरक्षेत्रका कक्षा ११/१२ सञ्चालनमा रहेका १७ माविमा पढ्न ३४ जनालाई पूर्ण छात्रवृति दिइने प्रतिष्ठानका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।
“विगतमा हामीले प्राविधिक धारतर्फ र स्नातक तहमा शिक्षा तथा वाणिज्य सङ्कायमा छात्रवृति दिदै आएका थियौ” खड्काले भन्नुभयो, यसपालिदेखि यो अवसरलाई अझ फराकिलो बनाउन सबै माध्यमिक विद्यालय (कक्षा ११, १२ अध्ययन हुने) मा पढ्न थप छात्रवृतिको घोषणा गरेका छौं ।” यसअनुसार वाणिज्य, शिक्षा तथा मानविकी सङ्कायमा कक्षा ११/१२ को अध्ययन अध्यापन हुने सबै माध्यमिक विद्यालयमा पढ्न दुई/दुई जना विपन्न परिवारका छात्रछात्रालाई पूरै शुल्क व्यहोरेर छात्रवृति उपलब्ध गराउने प्रतिष्ठानले निर्णय गरेको खड्काले स्पष्ट पार्नुभयो । यसबाहेक नगरभरिमा दुई जना उत्कृष्ट आवेदकलाई जेहेन्दार छात्रवृति पनि उपलब्ध गराइने खड्काको भनाइ छ ।
यो प्रयोजनका लागि आवेदन दिन पहिलो पटकको सूचना जारी भइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एसइईको मौका परीक्षाको नतिजा प्रकाशनपछि पनि आवेदनको मौका दिइने स्पष्ट पारेको छ।
विक्रम सम्वत् २०७७ सालदेखि प्राविधिक धारतर्फ अध्ययन गर्ने छात्रछात्रालाई छात्रवृति दिदै आएको प्रतिष्ठानले २०७९ सालदेखि बर्दिबासस्थित सामुदायिक क्याम्पसमा पढ्ने दुई जना छात्रछात्रालाई पनि बर्सेनि छात्रवृति दिदै आएको छ । शैक्षिक प्रतिष्ठानमा सम्बन्धित छनौट भएका विद्यार्थीको शुल्क पूरै व्यहोरिने गरिएको अध्यक्ष खड्काले बताउनुभयो । हाल प्रतिष्ठानको छात्रवृतिमा २२ जना अध्ययनरत छन् । १० जनाले डिप्लोमा तह उत्तीर्ण गरी विदेशमा थप अध्ययनको अवसर पाएका छन् । यसैगरी बर्दिबास जनता बहुमुखी क्याम्पस बर्दिबास–१४ मा शिक्षा तथा वाणिज्य सङ्कायमा प्रतिष्ठानको छात्रवृतिमा आठ जना अध्ययनरत छन् । प्राविधिकधारतर्फ प्रतिविद्यार्थी दुईदेखि तीन लाखसम्म र अन्य सङ्कायमा बढीमा ५० हजारसम्म शुल्क लाग्नेगरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले यसपालि छात्रवृतिको अवसरलाई अझ फराकिलो बनाएको छ । सहरभन्दा परका ग्रामीण परिवेशका ठाउँका विद्यालयमा अध्ययन गर्ने चाहना भएकाहरुका लागि प्रतिष्ठानले विद्यालयपिच्छे दुई/दुई जनालाई दिने छात्रवृतिको अवसरभित्र पढने रहर पालेका विपन्न परिवारका छात्रछात्राका लागि राम्रो मौका बन्ने बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाका प्रमुख (सहसचिब) रेवतीप्रसाद पराजुलीको भनाइ छ ।
विगतमा आफू अर्थाभावले नै उच्चशिक्षा लिन नपाएको सम्झना गर्दै खड्काले आफ्ना दिवङ्गत मातापिता (पद्मकुमारी खड्का र शमशेरबहादुर खड्का) ले जीवनको अन्तिमक्षणमा भविष्यमा कमाउन सक्दा गरिबका छोराछोरीलाई पढ्न सघाउनु भन्नुभएको अर्तिको पालना गर्दै उहाँहरुकै स्मृतिमा प्रतिष्ठान गठन गरेर शिक्षामा थोरै योगदान दिन चाहेको खड्काले खुलाउनुभयो । हाल बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काका बर्दिबासमा हार्डवेयर र होटलसहितका ब्यापारिक प्रतिष्ठान छन् । आफूले होटल विनायकको मुनाफाको १० प्रतिशत प्रतिष्ठानको कोषमा लगेर छात्रवृति व्यवस्थापन गरीरहेको उहाँको भनाइ छ ।