
पर्सा – वीरगन्जबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले मंगलबार बिहान राति प्रदेश नं.२-०३-००१ख ५६०९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
उनका अनुसार ट्रकमा भन्सार छलेको काजु, सटिङ-सुटिङको थान कपडा, कुर्ता-सुरुवाल र लेडिज टप्स थिए।
यस क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ट्रकमा सवार बारा निजगढ नगरपालिका-४ का २८ वर्षीय निकेश राउत कुर्मी, २४ वर्षीय सागर परियार र ३८ वर्षीय विष्णु पाठक रहेका छन्।
मालबाहक ट्रक र सवार व्यक्तिहरूलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। ट्रकमा करिब ४१ लाख ७८ हजार ८०० रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक मूल्यांकन गरिएको छ।