
‘सावन जाै रहे निरभ्र गगन,खेत सुखाय मरे जनमन !’
महोत्तरी, ३० असार । मधेशको प्राचीन मिथिलाक्षेत्रमा अहिलेपनि खेतीपाती र मौसमका कुरा उप्किदा पाका किसान ‘डाक वचन’ सम्झन्छन् । अनुकूल /प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ ले करिब ३०० वर्षअघि गरेका भविष्यवाणि पाका उमेरका मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ । मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झीरहने पात्र मानिन्छन् ।
“अखाढ सुख्खा, सावन दुखद, भादो भैंसल, अगहन झखत” (असारमा पानी नपर्दा साउन दुःखकै हुन्छ, अनि भदौ पनि राम्रो हुँदैन, सारमा मङ्सिर टोलाएर बस्नुपर्ने हुन्छ) यसपालि पानी नपरी असार बित्दा दिक्क हुनुभएका भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारु डाकवचन सम्झदै भन्नुहुन्छ, “अखाढक मार सालभर खेप परैय” (असारमा पानी नपरेको मार (मर्का) वर्षभरि झेल्नु पर्छ) ।
मिथिलामा प्राय मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको व्यवहारिक प्रचलन हुँदा सौरमासभन्दा चन्द्रमासको गणनामा महिना गनिन्छन् । चन्द्रमासले शुक्रबार नै साउन लागेपछि चौधरीले डाकवचन सम्झदै साउनको पनि छन्द निको नदेखिएको बताउनुभयो । “सावन सुख्खासँगे चलै,किसानक भाग्य अधरमें टलै” (साउनमा पानी नपर्दा किसानको कर्म पासोमा भुण्डिएजस्तै हुन्छ) डाक वचन सम्झदै चौधरी भन्नुहुन्छ, “सावनक रुख सेहो निक नई दिखाइय” (साउनको छाँट पनि निको देखिन्न) । शुक्रबार साउन कृष्णपक्ष सुरु भएपनि जेठको प्रचण्ड राप बिर्स्याइ रहेको उहाँ बताउनुहुन्छ । यसपालि पानी नपरेर धानबाली लगाउन नपाएका चौधरीजस्तै पाका किसान अहिले दिक्दार देखिन्छन् ।
यहाँ ‘डाक वचन’ सुन्ने सुनाउने प्रकृयाबाट पुस्तापुस्तामा सर्दै आएको छ । एक अक्षर पढ्न/लेख्न नजान्ने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरलाई ‘डाक वचन’का थुप्रै पङ्ति कण्ठस्त छन् । यद्यपि अहिलेका नयाँ युवा पुस्ताले भने यी पुराना कुरामा ध्यान नदिने गरेका बाँतरको गुनासो छ । आफूले बाजेको काखमा खेल्दैदेखि उहाँबाट डाकवचन सुनेको बाँतर बताउनुहुन्छ ।
अहिलेको मौसम अवस्था पानी पर्ने छाँटको नभएको डाकवचनका आधारमा बाँतरको निष्कर्ष छ । “सावन अन्हार, न बादर न बयार, पिया परदेश किसान लाचार” (साउन न अध्याँरो छ, न बादल न मेघ, प्रियजन परदेश छन् , यस्तो बेला किसान लाचार हुन्छन् ) डाकवचनका पङ्ति सम्झदै बाँतर भन्नुहुन्छ, “सावन जौं रहै निरभ्र गगन, खेत सुखाय, मरय जनमन” (साउनमा आकाश बादलबिनाको देखिनु वर्षा नहुने सङ्केत हो । यसले जग्गा रुखो बनाउँछ र जनजीवन सङ्कटमा पर्छ ) ।
मधेशकाे खासगरी मिथिला क्षेत्रमा ‘डाक’ सिद्धपुरुष महाज्ञानी यायावर (घुमन्ते) सन्त मानिन्छन् । प्राचीन मिथिला क्षेत्रका बस्तीबस्तीमा उहाँ पुग्नु भएकाे र सर्वसाधारणलाई खेतीपाती, माैसमसम्बन्धी अड्कल गर्ने ज्ञान, पारिवारिक सम्बन्धमा ख्याल गर्न पर्ने कुरा, स्वास्थ्य ज्ञान र जीवनमा आर्जित अनुभव बताएर अर्ति दिने गर्नु भएका दृष्टान्त सुनिने गरेकाे यहाँका पाकाजन बताउँछन् । पछिल्ला करिब ३०० वर्षयता मैथिल जनजीवनमा ‘डाक’ काे बलियाे प्रभाव रहेकाे मटिहानी-७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।
सिङ्गो असार यसपालि पानी नपरी बित्दा खेत रोप्न नपाएका किसान साउन लाग्दा पानी पर्छकि भनेर गरिएको आस पनि अब मरेकाे बताउँछन् । अब त चन्द्रमासले साउन कृष्णपक्ष सुरु भएको छ । तर लक्षणहरुले पानी पर्ने छाँट नदेखिदा ‘डाक वचन’ सम्झदै महोत्तरीको औरही–७ का ७५ वर्षीय मोहन महतो भन्नुहुन्छ, “सावन जो नभ चटकि रहल , बून्द नई टप्केई खेत ! धान–पानक सगुन घटै रोपनी होई न हेत !” (साउन लाग्दापनि आकाश सफा देखिए पानी पर्दैन, खेत रुखा हुन्छन् , खेती चौपट हुन्छ) । अहिले ठ्याक्कै यस्तो लक्षण देखिएको महतोको भनाइ छ । चन्द्रमासले गत शुक्रबार नै साउन लागेपनि साैरमासले अझै दुई दिन असार बाँकी छ । यद्यपि खेतीपातीसम्बन्धी विचार, ऋतु र महिनाका आधारमा गरिने माैसमबारेका अड्कल चन्द्रमासकै आधारमा हुदै आएका मिथिला लाेकपरम्पराका जानकार तथा मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (बाेलिचालीमा मटिहानी गुरुकूल) का कर्मकाण्ड विषयका शिक्षक शाेभाकान्त झाले स्पष्ट पार्नुभयाे ।
मिथिलाको जनमनमा बसेका मौसमवेत्ता डाकको समय यकिनसाथ भन्न नसकिएपनि १९ औ सताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिएको छ । गृहस्थ जीवनका सबै पाटामा डाकका भविष्यवाणि छन् । तर मिथिलामा मुख्यतः खेतीपाती र मौसमबारे बढी चासो राखिन्छ । डाकका चौपाइ (श्लोक) का प्रयोग भएका शब्दले यो समय १९ औं सताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिदै आइएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।
यसपालि धानको बीउ राख्नदेखि रोपाइँको समयसम्म अनुकूल वर्षा नहुँदा सिङ्गो मधेश मुख्यबाली लगाउन नपाएर आक्रान्त छ । खडेरीले पिल्सिएका मैथिल दिनको लक्षण र ‘डाक वचन’का उक्ति सम्झेर विरक्तिएका छन् । अन्नको भण्डार मानिने मधेशमा धान बाली लगाउन नपाएपछि किसान विलखबन्द परेका छन् ।
खेतीपाती र मौसमीय अड्कल गरिन केही दशक पहिलेसम्म निकै भरपर्दो मानिने ‘डाक वचन’ पछिल्ला केही दशकयता भने देखिने अवस्था र उक्तिका बीच मेल खान छाडेको कतिपय बताउँछन् । निश्चित समयमा देखिने मोसमीय अवस्था र त्यससँग जोडिएका डाकका वचनमा अब तारतम्य त्यति मिल्न छाडेको भङ्गाहा–७ मेघरोलका बासिन्दा वातावरण तथा चुरे विज्ञ डा. विजयकुमार सिंह बताउनुहुन्छ । “अचेल डाकवचनका कतिपय सन्दर्भ मिल्दैनन् , तर यसको कारण डाकवचन गलत भएर हैन, पछिल्लो जलवायु परिवर्तनको असर हो” सिंह भन्नुहुन्छ , “जलवायु परिवर्तनको असरले पुराना उक्ति र अवस्थाबारे गरिने अड्कल मेल खान छाडेका हुन् ।” अनि प्राकृतिक सम्पदाहरुको संरक्षण अवस्था पनि पहिलेजस्तो नहुँदा अहिले कतिपय सन्दर्भ मेल नखाने देखिने गरेका उहाँको भनाइ छ ।
यसपालिको लामो खडेरीले यहाँको मुख्यबाली धान लगाउन पाइएको छैन । यसैबीच मधेश प्रदेश सरकारले गत बिहीबार नै वातावरणीय असन्तुलनले वर्षा नहुँदा धानखेती गर्न नपाइएपछि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको सुख्खाग्रस्त क्षेत्र घोषणाले मात्र राहत नहुने किसानको पीडा छ । अब तीनै तहका सरकारले यो खडेरीबाट जोगाउन र नयाँ बाली लगाउने काममा किसानलाई उत्प्रेरित गर्न सक्नुपर्ने किसान प्रतिनिधि बताउँछन् ।
“प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा त गर्यो, यति घोषणाले त किसानलाई राहत हुँदैन नि, अब धानबाली लगाउन नपाएका किसानलाई अर्को बाली लगाउन उत्प्रेरित गर्नसँगै साधन स्रोतको पहुँच दिनपर्छ” महोत्तरीकै बासिन्दा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतो भन्नुहुन्छ , “यसबीच विभिन्न राहतका कार्यक्रमले जनतालाई जोगाइ राख्न तत्काल पहलकदमी बढाइन पर्छ ।”
मिथिलाक्षेत्रमात्र नभएर यसपालि सिङ्गो मधेशमै रोपाइँ निकै पछि परेको छ । चन्द्रमासले असार सकिएर साउन लागीसक्दासम्म मधेशमा धान रोपाइँ बल्ल ३५ प्रतिशतकाे हाराहारी पुगेकाे छ । अझ महोत्तरीको धान रोपाइँ त २० प्रतिशत पनि पुगेको छैन । मधेशका आठ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भएको महोत्तरी नै हो ।
महाेत्तरीमा जम्मा ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर (प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अभिलेखमा ४२ हजार ५०० हेक्टर उल्लेख छ ) धानखेतीको क्षेत्र मानिन्छ । जसमध्ये हालसम्म १९ प्रतिशतमात्र जग्गामा राेपाइँ भएकाे कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपाइँ भएको खेतमा पनि लामो खडेरीले धजा फाटेर धानका बोट पहेंलिएका छन् ।
मधेशमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य मानिन्छ । तर यहाँ अहिलेसम्म ३५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । रोपाइँ भएका खेत पनि महोत्तरीका जस्तै धजा फाटेका प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।