महोत्तरी, २५ साउन ।

साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्व सम्पन्न भएको छ । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने यो साँस्कृतिक तथा परम्परागत १३ दिने पर्व शनिबार मध्यरात कटाएर सम्पन्न भएको हो ।

भगवान विष्णु र भगवती लक्ष्मीको आराधनाको यो पर्व मिथिलामा मठ, मन्दिरमा सामुहिक रुपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ्) मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् । साउन पूर्णिमाको मध्यरात कटेपछि देवदेवीलाई झुलाइने झुलाको डोरी छिनाएर १३ दिने यो पर्व सम्पन्न गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले जानकारी दिनुभयो ।

मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरको झुलाघरको झुला उत्सव प्रसिद्ध छ । यस उत्सवमा पायक पर्ने मुख्य मठ र मन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु लक्ष्मीका प्रतिमा एकै ठाउँ ल्याएर उत्सव मनाउने चलन छ । झुला, मल्हार र कजरी गीतका लयमा गाउँदै, नाच्दै मनाइने यो पर्व मिथिलाको विशिष्ट परम्परा भएको मिथिला लोकपरम्पराका जानकार बताउँछन् । मिथिलामा यो उत्सव परम्परा विक्रम सम्वत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गर्नुभएको विश्वास गरिदै आइएको जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको भनाइ छ ।

साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा सामान्यतया मौसम अनुकूल रहँदा मुख्यबाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परीरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्‌नो मेहनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्‌ना इष्टदेवदेवी राम, कृष्ण एबं सीता , राधासँग खेलेको अनुभूति सँगाल्न झुला पर्वमा रमाउने गरेका मैथिल परम्परा र संस्कृतिका जानकार बताउँछन् ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न राख्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन श्रीरामलाई झुलाउने परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पाहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमीटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

जनकपुरमा जानकी मन्दिरमा र महोत्तरीको मटिहानीमा झुलाघरमा उत्सव मनाइन्छ । भुलनोत्सवकै लागि निर्मित झुलाघरमा लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याइ झुलामा भुलाइन्छ । मटिहानीमा नेपाल भारतका गरी दर्जनौ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइने चलन छ । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् । यो मिथिला लोकपरम्पराकै खास साँस्कृतिक पर्व रहँदै आएको जलेश्वर–५ पतैलीका बासिन्दा यालना विद्यापिठ मटिहानीका अवकासप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।


२०८२ श्रावण २५, आईतवार २०:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय