
काठमाडौँ : लगातारको वर्षाका कारण असोज १९ र २० गतेका लागि घोषणा गरिएको सार्वजनिक बिदा काठमाडौँ र ललितपुरमा सोमबार खारेज गरिएको छ।
मौसममा सुधार आएपछि जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार (असोज २०) बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू नियमित सञ्चालन गर्न निर्देशन दिएका हुन्।
गृह मन्त्रालयको निर्देशनअनुसार विपद् जोखिम प्रतिकार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा सुचारु गर्न भनिएको थियो। त्यसअनुसार अब राजधानीका सबै सरकारी सेवा पुनः सञ्चालनमा आएका छन्।