गोविन्द महतो
जनकपुरधाम, असोज ।

जनमत नेतृत्वको मधेश सरकारबाट नेकपा एमालेले आफ्नो समर्थन फिर्ता लिएको छ । कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको दुई साता पछि एमालेले पनि सरकारबाट समर्थन फिर्ता लिएको हो ।

मधेशको राजनीतिमा दुई ठुला दलले सरकारबाट समर्थन फिर्ता लिएपछि जनमतका मुख्यमन्त्री सतिष कुमार सिंहको एकल सरकार संकटमा परेको छ । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सबैभन्दा पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मुख्यमन्त्री सहित आफ्नो दुई मन्त्री यस अघि नै फिर्ता बोलाईसकेको छ । तर जनमतबाट मुख्यमन्त्री बनेका सतिष कुमार सिंहले राजिनामा दिएनन् । बाँकी दुई मन्त्री ईन्जिनियर बसन्त कुमार कुशवाहा र संजय कुमार यादवले पार्टीले समर्थन फिर्ता लिएसंगै राजिनामा दिएका थिए ।

बुधबार नेकपा एमालेले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको मंगलवार बसेको बैठकपछि आधिकारिक रुपमा उक्त निर्णय सार्वजनिक गरिएको हो । मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले हालको सरकारसँग अबको सहकार्य सम्भव नरहेको जनाएको छ । मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता हराएको निष्कर्ष सहित समर्थन फिर्ता लिएको जनाएको छ ।

एमालेको समर्थन फिर्तासँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । एमाले जस्तो ठूलो दलको समर्थन गुमेपछि विपक्षी दलहरुलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।
एमालेले कांग्रेस नेतृत्वको नयाँ सरकार गठनको तयारीमा लागेको नेकपा एमालेका प्रदेश अध्यक्ष चन्देश्श्वर मण्डलले जानकारी दिए । उनले भने, ‘नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनको एक प्रकारको सहमति भैसकेको छ । सोही अनुरुप अब आगामी बाटो तय गरिनेछ ।’

यसअघि नै कांग्रेस नेतृत्वमा सरकार गठनका लागि वर्तमान सरकार नेतृत्वकर्ता जनमत पार्टी र एमाले सहितका तीनवटै दलबीच सहमति भइसकेको श्रोतको भनाई छ । सम्भावित गठबन्धनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरुसँग छलफल अघि बढाइएको छ ।

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विगतको सहमति अनुसार मधेश प्रदेशमा लोसपा नेतृत्व सरकारको दाबी गरिरहेको छ । लोसपा अध्यक्ष महन्त ठाकुर निकट श्रोतका अनुसार लोसपा नेतृत्वको सरकारमा अन्य दल सहभागि भए सरकारलाई समर्थन गर्ने अन्यथा विपक्षमा बस्ने तयारी रहेको श्रोतको भनाई छ । श्रोतले भन्यो, ‘जसपा र जनमतले सरकार नेतृत्व गरिसकेकाले अबको लोसपाको हो । त्यसैले नेतृत्व गर्ने वा विपक्षमा बस्ने परिस्थिति अनुसार जानेछ ।’ यता जसपा र माओवादी केन्द्र सर्वदलीय सरकार गठन हुनुपर्ने पक्षमा छन् ।


२०८२ आश्विन २२, बुधबार १८:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय