बर्दिबास (महोत्तरी), ४ पुस ।
बर्दिबास–६ चौलिखामा २० मेगावाट विद्युत उत्पादन हुने सौर्य उर्जा आयोजनाको जडान कार्य सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत प्राधिकरणको स्वीकृत परियोजनाअनुसार यो आयोजनाको काम बिहीबार सुरु भएको हो । एक अर्ब २० करोडको लागतमा निर्माण थालिएको यो आयोजनाले छ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष लिएको छ ।
बर्दिबास–६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडा (लिज) मा लिएर निर्माण कम्पनीले काम थालेको छ । छ महिनाभित्र २० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्षसाथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताउनुभयो । आयोजनाको निर्माण कार्यको शुभारम्भ मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एक समारोहबीच गर्नुभएको हो ।
थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमै सम्पन्न गरेर विद्युत उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ । “हामीले काम थाल्यौं, छ महिनाभित्र विद्युत उत्पादन गरेर प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई दिन्छौं” चन्दले भन्नुभयो, “यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत महोत्तरी र धनुषाका १० हजार भन्दाबढी घरपरिवारको उपयोगमा आउने छ ।”

यो आयोजनाको थालनीले चौलिखा वरपरका किसान खुसी छन् । “हाम्रै लागी हाम्रै ठाउँमा यति ठूलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौं” बर्दिबास–७ का ७० वर्षीय किसान जगन्नाथ महतो भन्नुहुन्छ, “सिँचाइ नभएको वञ्जड जग्गाको राम्रो उपयोग भयो, हामीले जग्गाको भाडा पनि राम्रै पाएका छौं ।” कम्पनीले प्रतिकठ्ठा जग्गाको बर्सेनि चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उहाँको भनाइ छ । यो सम्झौता कम्पनी र किसानले बर्दिबास–६ वडा समितिको कार्यालयको रोहबरमा गरिएको कम्पनीले पनि स्पष्ट पारेको छ ।
यस आयोजनअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इनभटर र तीन लाख ३३ हजार सौर्य (सोलर) प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणीय प्रतिकूल प्रभाव नपर्ने र यो कम झण्झटिलो हुने विद्युत क्षेत्रका विज्ञको भनाइ छ ।

“यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो निकै प्रभावकारी रहेको छ” प्राधिकरण ढल्केबर ग्रिड महाशाखाका प्रमुख तथा ऊर्जा विज्ञ श्रीनारायण मण्डलले भन्नुभयो, “यसले निर्धारित समयमै उत्पादन दिएर हामीलाई दिने विद्युत महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।”
आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय उर्जा समृद्धिको मुख्य आधारमध्ये रहेको उल्लेख गर्नुभयो । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
“यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ” मुख्यमन्त्री यादवले भन्नुभयो, “हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौं ।” यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौंले रोजगारीको अवसर पनि पाउने बताउँदै मुख्यमन्त्री यादवले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गर्नुभयो ।


