नेपालवाणी डटकम
जनकपुरधाम, पुस
मधेश प्रदेशसभाको सभामुखमा जनता सामाजवादी पार्टी नेपालका सांसद राम अशिष यादव निर्वाचित भएका छन् । मधेश प्रदेशसभाको मत विभाजनको परिणाम अनुसार मधेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका हुन् ।
मधेश प्रदेशसभाले प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम निर्वाचन कार्यक्रम अन्तर्गत सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको उम्मेदवार रामअशिष यादवको पक्षमा ७२ र विपक्ष त्रिलोकी प्रसाद चौधरीको २४ मत परेको छ । मधेश प्रदेशसभाको छैठौ अधिवेशन अन्तर्गतको १० औं बैठकमा कूल ९६ जनाको उपस्थितिमा यादवको पक्षमा ७२ मत पाएर निर्वाचित भएको उप–सभामुखले बविता राउत ईशले घोषणा गरिन् ।
जसपाका यादवलाई सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले मत दिएका छन् । यादव धनुषा क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । विपक्षमा नेकपा एमालेबाट सभामुखमा त्रिलोकी प्रसाद चौधरी उम्मेदवार थिए । उनलाई एमाले सहित राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदले मतदान गरे ।
उम्मेदवारी दर्ता भएको पहिलो प्रस्तावमा बहुमत पुगेको कारणले दोश्रो प्रस्तावमाथि छलफल र मतदान भएन । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ र नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ जना सांसद छन् ।
जसमा नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेपालका १÷एक जना सांसद निलम्बित छन् ।

