महोत्तरी, १७ फागुन ।

मिथिला माध्यमिकी परिक्रमाका यात्री दोहोर्‍याएर भारत पुगेका छन् । जम्मा १५ दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा बिताएका यात्री फेरि १३ औं दिन शनिबार भारत पुगेका हुन् । यात्राको उत्तराद्र्धतिर १३ औं दिन मधुवनीकै करुणामा शनिबार रात बिताएका यात्री आज आइतबार १४ औं दिन मधुवनीकै बिसौल पुगेका छन् । आज बिसौलको रात्रिबासपछि अन्तिम अर्थात् १५ औं दिन भोलि सोमबार यात्री जनकपुरधाम पुग्नेछन् । महोत्तरी, धनुषा र मधुवनी जिल्लाका तीर्थस्थलहरुको परिक्रमा गरिने यो यात्रा नेपाल भारत साँस्कृतिक सम्बन्धको अनुपम उदाहरण भएको सीमा वारीपारीका बासिन्दा बताउँछन् ।

“हमरासभबीच समान भाषा, संस्कृति , परम्परा आ पावैनत्यौहारक कारण दू फरक राष्ट्रियता होयतों भावपक्ष स हमसभ एक छि” (समान भाषा, संस्कृति , परम्परा र चाडपर्व समान हुँदा हाम्राबीच दुई फरक राष्ट्रियता भएपनि भावनात्मक एकता छ” मधुवनीको मधवापुर बजारका पुराना ब्यापारी बजरंगीप्रसाद गुप्ता भन्नुहुन्छ, “यी विभिन्न अवसरमें व्यक्त होइत अछि, अहीमे स मिथिला मध्यमा परिक्रमा एक अई, जे हमरासबहक पुरान सम्बन्धक परम्परा अई” (यो विभिन्न अवसरमा व्यक्त हुन्छ, यिमध्ये मिथिला मध्यमा परिक्रमा एक हो, जुन हाम्रो पुरानो परम्परा हो) । यो साँस्कृतिक सम्बन्ध दुबै देशबीच आपसी सम्बन्ध प्रगाढ बनाउने सेतु रहेको दुबैतिरका बासिन्दा बताउँछन् ।

सीमापारीका भारततिर गुप्तामात्र नभएर आम सर्वसाधारण र जनप्रतिनिधिहरु प्नि सीमा वारिपारिका नेपाली र भारतीय दुई फरक देशका नागरिक भएपनि दुःखसुख एकआपसमा बाँड्दै आएका बताउँछन् । “देखैछि, ओ पाया स ओइपार नेपाल अई, आ अइपार भारत । देशक सीमाक अतिरिक्त हमरासबहकबीच रहनसहनमें आन कोनो फरक नई अई” (हेर्नुहुन्छ, उ त्यो स्तम्भ पारि नेपाल र वारि भारत हो, दुई देशको सीमाबाहेक हामीबीच रहनसहनमा अरु केही फरक छैन) मधवापुर ग्रामपञ्चायतका मुखिया (नेपालतिर स्थानीयतहको प्रमुखजस्तै) राजेश साह भन्नुहुन्छ, “यी मध्यमा परिक्रमामे यात्री सबहक स्वागत हमसभ साथसाथ करैछि” (यो मध्यमा परिक्रमाका यात्रीहरुको स्वागत हामी सँगसँगै उभिएर गर्छौं )। मधवापुर र मटिहानीमा छठ पर्वको घाट पनि एउटै बिग्ही नदीमा सँगसँगै जोडिएर बन्ने गरेको मधवापुर पुगेका यो सम्वाददातासँग साहले उल्लेख गर्नुभयो ।

नेपाल भारतबीच साँस्कृतिक आदानप्रदानका कैयौं अवसर छन् । यिमध्ये साउन शुक्लपक्षमा मनाइने झुलापर्व, कात्तिक शुक्लपक्षमा मनाइने छठ, मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव, फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा र होली पर्व मुख्य छन् । यी धार्मिक तथा साँस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुँदै आएका नेपालतर्फ महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । “मिथिला माध्यमिकी परिक्रमाको चौथो दिन भारतको गिरिजास्थानबाट मटिहानी आउने यात्री मधवापुर बजारहुँदै आउँछन् , ती सबैलाई मधवापुरबासी स्वागत गर्दै नेपालतिर ल्याउँछन्‌” मण्डल भन्नुहुन्छ, “बीचको दशगजा वारिपारिका हामी बासिन्दा छौं, यो भूगोल थाहा नपाएका कुनै नयाँ यात्री हामीलाई (मटिहानी र मधवापुरबासी) हेरेर फरक देशका नागरिक भनेर खुट्याउनै सक्दैनन् ।” दुबैतर्फका बोली, रितिथिति , भेषभूषा र चाडपर्व समान हुँदा वारिपारि आउजाउ गर्दा कहिल्यै फरक देशको अनुभूति नहुने गरेको मधवापुर ग्रामपञ्चायतका सरपञ्च (नेपालका स्थानीयतहका उपप्रमुख वा उपाध्यक्षजस्तै) बलराम मिश्र बताउनुहुन्छ । “हेर्नुहुन्छ, हामी फरकजस्तो लाग्छौं ?” मटिहानी नगरप्रमुख मण्डलसँगै उभिएर मिश्रले नेपालीमै भन्नुभयो, “हामी मध्यमा परिक्रमामा सँगसँगै यात्रुको सेवामा हुन्छौ ।” विगतमा नेपालका एफएम रेडियोहरुमा लामो समय विभिन्न कार्यक्रम प्रस्तुत गरेको हुँदा नेपाली बोल्न, लेख्न र पढ्न असजिलो नहुने मिश्रले प्रस्ट्याउनुभयो ।

मिथिला माध्यमिकी परिक्रमा अघि त्रेता युगमा श्रीराम र सीताजीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुशरण मानिन्छ । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर १३३ किलोमिटरको वृतमा १५ दिन गरिने मध्यमा परिक्रमामा मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ । यस यात्रामा सरिक हुने नेपाली र भारतीय उतिकै हुन्छन् । यात्रामा को भारतीय र को नेपाली भनेर नचिनिने जलेश्वर–५ पतैलीका बासिन्दा मैथिल संस्कृतिविद् ध्रुवराय बताउनुहुन्छ ।

“सबैका वाणि (बोली) मा सीयाराम नाम सङ्कीर्तन , पिठ्यूँमा सामल खाजा र फेरफार लुगाका पोका, को नेपाली को भारतीय नसोधी, नचिनी छुट्याउन सकिन्न” अवकासप्राप्त सहप्राध्यापक राय भन्नुहुन्छ, “यो परिक्रमा नेपाल भारत साँस्कृतिक सम्बन्धको निरन्तरता हो ।” यसलाई साधुसन्तले अलौकिक यात्रा भन्ने गरेका मिथिला माहात्म्यम्‌का नेपाली अनुवादकसमेत रहनुभएका रायले बताउनुभयो ।

“यो यात्रा साधुसन्तले भनेजस्तै साँच्चै अलौकिक छ, अनि आनन्द र निस्फिक्रीको पनि” राय भन्नुहुन्छ, “यात्राको सवल पक्षमा नेपाल भारतका साँस्कृतिक सम्बन्धका कुरा छन् , यस यात्रामा नेपाल भारत दुबै देशका क्षेत्र र नागरिक सम्मिलित हुन्छन् , यो हाम्रो बहुआयामिक सम्बन्धको सेतु पनि हो ।”

फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रिबासको परम्परा छ । जसमा नेपालतर्फ ११ र भारततर्फ मधुवनी जिल्लामा चार रात बिताइने गरिन्छ । यो यात्रामा दोस्रो, तेस्रो, १३ औं र १४ औं दिनको रात्रिबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौलमा गरिन्छ । नेपालतर्फ ११ दिनमा छ धनुषा र पाँच महोत्तरीमा गरिन्छन् ।

मिथिला माध्यमिकी परिक्रमाका कथाबस्तु सबै नेपाल/भारतका समान छन् । श्रीराम भारतीय र सीताजी नेपालकी छोरी । यो वैवाहिक सम्बन्धदेखि नै यता दुबैतर्फ बिहाबारी सघन हुँदै आएको परिक्रमाको १३ औं दिनको रात्रि विश्रामस्थल रहेको मधुवनी जिल्लाको करुणाका बासिन्दा ७० वर्षीय श्रीनिवास पाण्डे बताउनुहुन्छ । यो यात्राले राज्यस्तरमा हुने यदाकदाका तितामिठा सम्बन्धको पनि त्यति वास्ता गर्दैन । बरु यी साँस्कृतिक परम्पराले राज्यराज्यबीचको कहिलेकाँही बन्ने असमदारीलाई पनि समझदारीमा पुग्न प्रेरित गर्ने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्णको भनाइ छ ।


२०८२ फाल्गुन १७, आईतवार १२:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय