महोत्तरी, २४ फागुन ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको महोत्तरी जिल्लाको मतदानमा महिला सहभागिता बढी देखिएको छ । यहाँ पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भएपनि मतदानमा भने महिलाको सहभागिता बढी देखिएको हो । मतदानमा पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाको सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेकोे छ ।

जिल्लामा सम्पन्न निर्वाचनमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता रहेका मध्ये महिलाको सङ्ख्या पुरुषभन्दा ३९ हजार ८९ कम छ । तर जिल्लामा खसेको कूल मत दुई लाख ५८ हजार १५७ मध्ये महिला सहभागिता १३ हजार ५४५ ले बढी रहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले पुष्टि गर्नुभयो । मतदानमा जम्मा एक लाख ३५ हजार ८५० महिला र एक लाख २२ हजार ३०५ पुरुष सहभागी भएका छन् ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा मतदानमा महिला सहभागिता बढी देखिएको छ । क्षेत्र नम्बर–१ का एक लाख पाँच हजार ६४६ मतदातामध्ये ६६ हजार २६६ ले मतदानमा भाग लिएका छन् । यहाँ ३४ हजार ५१५ महिला र ३० हजार २६७ पुरुष सहभागी भए । यसैगरी क्षेत्र नम्बर–२ मा जम्मा एक लाख सात हजार ५९४ मध्ये मतदान गर्ने ६४ हजार ८४५ मा ३४ हजार ५७८ महिला देखिएका छन् । यहाँ मतदान गर्ने पुरुषको सङ्ख्या ३० हजार २६७ छ ।

यस्तै क्षेत्र नम्बर–३ मा जम्मा मतदाता एक लाख १० हजार ४३६ मध्ये मतदान गर्ने ६१ हजार ७३७ मा महिला ३३ हजार ३७ र पुरुष २८ हजार ६९९ पाइएका छन् । जिल्लाको क्षेत्र नम्बर–४ मा जम्मा मतदाता एक लाख सात हजार ६०६ मध्ये ६५ हजार ३०९ जनाले मतदान गरेका छन् । जसमा महिला ३३ हजार ७२० महिला र ३१ हजार ५८९ पुरुष रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतदान तालिकामा उल्लेख छ ।

जिल्लामा मतदाता नामावलीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी भएपनि मतदानमा महिला बढी देखिनुमा पुरुष कामका लागि विदेश गएका मुख्य कारण रहेको सामाजिक अगुवाको मत छ । यद्यपि यसबीच बढेको राजनीतिक जागरण, महिला साक्षरता र सामाजिक एबं राजनीतिक गतिविधिमा बढ्दो महिला चासोले पनि यो अवस्था बनेको प्रयास महोत्तरी सामाजिक संस्थाका अध्यक्ष प्रवीण कर्ण बताउनुहुन्छ ।


२०८२ फाल्गुन २४, आईतवार १६:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय