भूमिका उपाध्याय,

बर्दिबास, २० वैशाख ।

महोत्तरीको बर्दिबासमा आज आइतबार ३३ औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा दीप प्रज्वलन तथा ऐक्यबद्धता प्रदर्शन गरिएको छ । बर्दिबास नगर पत्रकार सञ्जालको आयोजनामा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सहभागितामा आज साँझ बर्दिबास–१ सिन्धुलीचोकमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्दीय सदस्य राजकरण महतोले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको निर्वाध उपयोग हुन पर्ने बताउनुभयो । पछिल्ला तीन वर्षका घटना केलाइँदा अघिल्ला दुई वर्षको तुलनामा सन् २०२५ मा मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना निकै बढ्नु चिन्ताको विषय बनेको महतोले औंल्याउनुभयो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाले प्रेस स्वतन्त्रताका लागि पत्रकारले गर्ने खबरदारीमा ऐक्यबद्धता जनाउनुभयो । यस अवसरमा राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली , बर्दिबास उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विष्णु खड्का, नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिब नारायण घिमिरे, सामाजिक अगुवा फाल्गुण सुसलिङ्ग, निरज अधिकारीसहितका व्यक्तित्वको सहभागिता रह्यो ।

सञ्जालका सचिब विशाल बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रकमा प्रेस स्वतन्त्रता सेनानि ईश्वरी काफ्‌ले र सञ्जालका अतिरिक्त विभिन्न पत्रकारसम्बद्ध सङ्गठनमा आबद्ध पत्रकारको सहभागिता थियो । कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपालप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।


२०८३ बैशाख २०, आईतवार २१:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय