काठमाडौँ : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री यादवले उप्रेतीलाई शपथ ग्रहण गराउनुभएको हो।

शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले नेपालको संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक र पारदर्शी ढङ्गले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि खुला आवेदन आह्वान गरी छनोट प्रक्रिया अघि बढाएको थियो। सोही छनोट प्रक्रियाबाट सिफारिस हुनुभएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त कार्यकारी निर्देशक उप्रेती मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण तथा न्यायमा पहुँचका क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रिय हुनुहुन्छ। यसअघि उहाँले वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रको व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को उपकार्यक्रम निर्देशक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा मानवअधिकारसम्बन्धी विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ।


२०८३ श्रावण २७, बुधबार २१:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय