बर्दिबास, ६ भदौ ।
बर्दिबासका उद्यमी विष्णुबहादुर खड्का बर्दिबासका वर्ष व्यक्ति–२०८२ सम्मानबाट विभूषित भएका छन् । सबैका लागि हामी बर्दिबास संस्थाले आज शनिबार बर्दिबासमा सम्पन्न एक कार्यृक्रमबीच खड्कालाई वर्ष–२०८२ का उत्कृष्ट व्यक्तिका रुपमा सम्मान गरेको हो । खड्कालाई समारोहमा बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले सम्मानपत्र प्रदान गरेका हुन् ।
खड्काले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका पद्मशम्शेर खड्का प्रतिष्ठानमार्फत् गरिब र निसहाय परिवारका बालबालिकालाई उच्च शिक्षा दिदै आएका छन् । विक्रम सम्वत् २०७७ देखि सञ्चालित यो कार्यक्रमअन्तर्गत् हालसम्म ५९ जनाले प्राविधिक धारको डिप्लोमा र साधारणतर्फ स्नातकतहको शिक्षा पाएका छन् । यसैगरी खड्काले कोविडको महामारीका बेला बर्दिबासमा कोरेन्टाइन व्यवस्थित रुपले सञ्चालन गरेर सामाजिक सेवाका क्षेत्रमा उत्कृष्ट योगदान दिएका छन् । यसैगरी त्यसैबेला जिल्लाका ८० जना पत्रकारको कोविड बिमा गरेर खड्काले सञ्चारमैत्री पहिचान बनाएका छन् । जसमध्ये १० जनाले कोविड बिमावापतको रकम प्राप्त गरेका छन् । खड्काको यो उद्दात्त सेवाको कदर गदै यसपालि उनलार्इृ वर्षव्यक्तिको सम्मानले विभूषित गरिएको सबैका लागि हामी संस्थाले जनाएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व खड्काले आफू गरिबी र अभावकै कारण उच्चशिक्षा पढ्न नपाएको विगत सम्झदै आफ्ना स्वर्गीय मातापिताको उपदेशानुुसार गरिब र असहायहरुका लागि शिक्षाको अवसर दिन पद्मशम्शेर खड्का छात्रवृति सञ्चालन गरेको बताए । प्रतिष्ठानले यस वर्ष २०८३ का लागि पनि बर्दिबास नगरक्षेत्रका माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका ३६ जना छात्रछात्रालाई उच्च शिक्षाको अवसरका लागि दरखास्त आह्वान गरेको जानकारी दिएका छन् । प्राप्त सम्मानले आफूलाई अझ सेवाका क्षेत्रमा समर्पित भएर लाग्न जिम्मेवारीवोध गराएको खड्काको भनाइ छ ।

कार्यक्रममा सबैका लागि हामी संस्थाका सदस्य अनु खनालले संस्थाको परिचय दिदै अभाव र गरिबीले पिल्सिएका बस्तीका बालबालिकालाई शिक्षा, स्वास्थ्य र समान अवसरको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले संस्था गठन गरिएको बताउनुभयो । पछिल्ला तीन वर्षयता समाजमा उत्कृष्ट सेवा दिएका व्यक्ति र संस्थालाई वर्ष व्यक्ति घोषणा गरिदा सकारात्मक उत्प्रेरणा हुने विश्वासका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको खनालले बताइन् ।
संस्थाले यसअघि २०८० मा बर्दिबासमा सर्पदंश उपचार केन्द्र स्थापना र रातु ठाकुर मोक्षधाम निर्माणमा दिनरात नभनी योगदान दिनुभएका कृष्ण देवकोटा र २०८१ मा होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी हिरालाल गौतमलाई वर्ष व्यक्ति सम्मानले विभूषित गरीसकेको छ ।
कार्यक्रममा नगरप्रमुख क्षत्री , बर्दिबास नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी र बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीसहितका वक्ताले सम्मानित व्यक्तित्व खड्काको सामाजिक योगदानको चर्चा गर्दै पछिसम्म उहाँबाट समाजले सेवा पाइरहने अपेक्षा व्यक्त गरे । कार्यक्रम सबैका लागि हामी संस्थाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न भएको हो ।



