हेटौंडा, मंसिर ४ । चिसो मौसम सुरु भएसँगै मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बैंकको हेटौंडा शाखाको पहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो ट्र्याकसुटका साथै कापी र कलम प्रदान गरिएको हो। चिसो मौसममा विद्यार्थीलाई सहजता प्रदान गर्नुका साथै उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

हेटौंडा शाखाका प्रबन्धक बिनेश कार्कीको पहलमा सम्पन्न उक्त कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति रहेको थियो। बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यको समन्वयमा प्राप्त सहयोग विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो।
स्थानीय चेपाङ समुदायका बालबालिकाको शैक्षिक तथा दैनिक जीवनमा सघाउन गरिएको यस सहयोगले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास बढाउनुका साथै पठनपाठनप्रति थप प्रेरणा मिल्ने विश्वास लिएको शाखा प्रबन्धक कार्कीले बताए।
बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्न विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




