
- गोपाल बराल, महोत्तरी ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे अब भौतिक रुपले हाँमीबीच रहेनन् । यस पूण्य धर्ति (नेपाल) मा १०१ वर्षको आयु पाएका राष्ट्रकवि घिमिरेले २०७७ भदौ-२ गते मङ्गलबार साँझ पउने छबजे अन्तिम सास फेरे । घिमिरे हाँमीबीच भौतिक रुपले रहेनन् , तर, उनका कालजयी कविता र गीतले सधैं उनी हाम्रो दिलमा ठाउँ जमाई रहने छन् ।
तिथि मिति बिर्से । यद्यपि सन्दर्भ मलाई सम्झना छ-, बिक्रम सम्वत् २०६० कै आसपास हुन पर्छ, जनकपुरधाममा दोश्रो अन्तराष्ट्रिय मैथिली महोत्सव आयोजित थियो । सो भब्य समारोहका प्रमुख अतिथि थिए राष्ट्रकवि घिमिरे । त्यहीं नै उज्यालो आभायुक्त उनको अनुहार नजिकबाट नियाल्न पाएको थिंए ।
‘अग्ला सिंहासनहरु हिले, क्रुर अन्याय काँपे,
सामन्तीका खडहरमहाँ क्रान्तिका दूत नाचे ।
काला धव्वा रगतहरुका खुर्किए स्वार्थ हारे,
गर्जीगर्जी नवयुवकले ज्यानको आस मारे ।।’ मैले १० कक्षामा पढ्दा नेपाली बिषयमा घिमिरेको यो कविता पढेको थिएँ । यि कविताका हरफ पढी रहँदा लाग्दथ्यो, कुनै कविको रचना नभई निर्दलीय पञ्चायती ब्यवस्थाबिरुद्ध कुनै राजनेताको हाक हो । यिनै हरफले पनि त्यतिखेरको पञ्चायती ब्यवस्थाबिरुद्धको बामप्रजातान्त्रिक आन्दोलनमा मलाई जोडिन किशोरावस्थामै हौस्याएको अहिले अड्कल गर्दछु ।
प्रकृति प्रिय कवि घिमिरेका मायाप्रिति र पाखापखेरुका कैयन कालजयी गीत छन् । पधेंरीमा जम्मा हुने साइली, माइलीदेखि घाँस-दाउरा खोज्न पाखा पस्ने सबैका लागि घिमिरेका गीत प्रिय छन् । ‘गौरी’ खण्डकाव्यका कैयौं श्लोक मलाई कण्ठाग्र छन् । यद्यपि कविकै शोकले विक्षिप्त बनाएका बेला उनको शोक यहाँ उतार्न म असमर्थ छु ।
खासमा म कवि घिमिरेको मिथिला प्रेमले लच्छ्र्रप्पै भिजेको छु । यस क्रममा उनको ‘यही हो मेरो मिथिला, धरती शश्यश्यामला’ शिर्षकको कविता सम्झेको छु । “यही हो मेरो मिथिला धरती शश्यश्यामला” कुनै मिथिलामा जन्मे हुर्केकाले लेखेको भान दिने यो चर्चित कविताले पाहाडी जिल्ला लमजुङ्गमा जन्मी हुर्की बढेका राष्ट्रकवि घिमिरेलाई यहाँको माटोपानीसँग एकाकार गराएको छ । मिथिलाको चर्चा हुनासाथै कल्पनामा आउने रामायणकालीन पात्रहरु नै कविले यस कवितामा छानेका छन् ।
“गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली ! जय जय जय हे नेपाल….सुन्दर शान्त विशाल !!” जस्ता राष्ट्रिय भावनाले ओतप्रोत भएका कैयन गीत र कविताका स्रष्टा कवि घिमिरेले मिथिला चर्चा जसरी आफ्नो कवितामा उतारेका छन् , त्यसले उनलाई मिथिला मेरोभन्ने हक दिएको छ । अन्नको खानी भनिने मिथिलाको उर्वर माटोमा लहलह झुलेका धानका बालालाई ‘हरिया धानका बाला’ (शश्यश्यामला) भन्ने कविले मिथिला कै छोरी जानकीलाई पनि धानकै मञ्जरीजस्ती जन्मिएकी उल्लेख गरेका छन् ।
जानकी, कीर्ति, माण्डवी र उर्मिलासहितका चार दिदीबहिनी विदेह राजकुमारी भएपनि कविले यिनीहरुलाई आम मिथिलानी किशोरी झैं चित्रण गरेका छन् ।
‘माण्डवी, कीर्ति , उर्मिला बहिनी बाल चञ्चला-,
दौतर मिल्दा सहेली बालीमा खेले बहेली ।’
विदेह राजभवनमा राजकन्याका लागि खेल, मनोरञ्जनका प्रसस्त साधन उपलब्ध रहेपनि कविले अरु मैथिल बालबालिकाजस्तै यिनीहरुलाई खेतबारी डुलाएका छन् । आफ्ना दौंतरसँग खेलाएका छन् । कविता पढ्ने जो कसैेलाई जानकी पनि आपूmजस्तै हुर्की , बढी , खेलेकी रहिछन्भन्ने सन्देस दिएर कविले रामायणमा यदाकदा देखिने गरेको अलौकिक वणर्नलाई सामान्यकृत गरेका मैथिल बिद्वानहरु बताउँछन् ।
प्राकृतिक सौन्दर्य वणर्न, कोमल भाव र कारुणिक चित्रणमा खप्पिस कवि घिमिरेले विदेह राजभवनमा हुर्कदै गरेका राजकन्याहरु बढ्दै जाँदा उनीहरुको यौवन वासना (सुवास) सर्वत्र फैलिएको प्रसङ्ग कवितामा उप्काएका छन् । जुन वासनाको प्रभावले अयोध्याका राजकुमार राम जनकपुर आएर शिबको धनु भाँची जानकीसँग बिबाह गरेका पौराणिक कथावस्तुलाई कवितामा सरल ढङ्गले वणर्न गरिएको छ । रामले जानकीको पाणीग्रहण गर्न शिबको धनु भाँच्दा परिश्रम परेर पसिना पुछेका कुरालाई उभ्याएर रामको पुरुषार्थ पारलौकिक नभई यहलौकिक नै रहेको सन्देस कवितामा देखिन्छ ।
‘किशोर राम-लक्ष्मण श्यामल गौर वदन,
शिबको धनु भाँचेर पसिना दाना पुछेर-,
मुखमा चढी लालिमा उभिए आई आलीमा ।’
जसरी मैथिलहरु खेतमा कडा परिश्रम गरेपछि आलीमा बसेर खुइया…गर्दै पसिना पुच्छन् , त्यस्तै जानकी पाउने धोकोमा कडा परिश्रमले शिबको धनु भाँचेका रामले आलीमै उभिएर पसिना पुछेको र जानकी मेरी भइन्भन्ने आत्मस्वीकृतिले स्वभाविक रुपमा लजालु बनाएर रामको अनुहारमा लालिमा चढेको प्रसङ्ग उभ्याई आम मैथिल जनजीवन कविले देखाउन खोजेका जनकपुर क्षेत्रका प्रसिद्घ साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् ।
कवितामा लौकिक जगतमा देखिने दुलहादुलहीबीचको लजालु स्वभावको चित्रण गर्दै रामले धनु भाँचेर बिबाह गर्दाको क्षणमा जानकीको अवस्था देखाउन कविले यसरी शव्द कुँदेका छन् ।
‘लावण्यमयी जानकी यै गहुँगोरो ज्यानकी,
परेला ढाली गाजले झुकाई शिर लाजले-,
अर्पण भइन् राममा पोटिला बाला धानको ।’
गहुँगोरी जानकी….! हिंउजस्ती सेती त मिथिलानी हुदैनन् नि ! त्यसैले जानकीको रुपको वणर्नमा पनि कविले मिथिलाको माटो उभ्याएका छन् । यी लावण्यमयी जानकी..जो पगटो हैन पोटिलो धानको बालाजस्ती छन्….झर्झराउँदी !! जो मिथिला संस्कृति र परम्पराकी गौरव मानिन्छिन्-, बिबाहपछि पतिमा समर्पण हुनु पर्ने हिन्दू मैथिल परम्पराअनुसार राममा अर्पण भइन् । जतिखेर जानकी राममा अर्पण भइन्….त्यसको वणर्नमा कविले भनेका छन्-,
‘अर्पण भइन् राममा पोटिला बाला धानको,
झलको पारी सुनको झुलेझै मिठो घाममा ।’
यहाँ झुलेझै मिठो घाममा भन्ने वाक्याङ्सले श्याम वणर्का रामका पोल्टामा अर्पित भएकी धानको बालाजस्ती जानकी पारिलो घाममा सुन झैं चम्किइन् भन्ने र घाम भनेर सूर्यबंशी रामको कुल झलमल्याइन् भन्ने अर्थमा समेत बुझ्न सकिने डा. बिमलको भनाइ छ ।
कवितामा कविले प्रकृति र मान्छेलाई एकाकार पनि गराएका छन् । खेतमा झपक्क फलेको धानको बाला देखेर दङ्ग परेका खेतालाले भाकने स्वर र धानको बालाको वणर्नले मानिस र प्रकृतिलाई एकाकार गराएको साहित्यकार डा. विमलको बुझाइ छ । धान लहलह झुल्ने मङ्सिर महिनामै राम जानकीको बिबाह भएकाले खेतालाहरुले सुरिलो भाखामा गाउने धाननाचको गीतले खेतीको सफलताको अनुभूति र अत्यन्त प्यारी आफ्नी राजकुमारीको बिबाह महोत्सवको रमाइलो संगसाथ गर्न पाएका देखिन्छ ।
‘खेतका खलाखलामा धानै र नाच नाचेर,
सुरिलो मिठो गलामा गाउन लागे खेताला ।’
राष्ट्र प्रेम र साँस्कृतिक बिबिधताका बिभिन्न पक्षलाई गुँथेर सरल र ओजिला शव्द कुँदने कविकोे यस कविताले राम जानकीको बिबाह प्रसङ्गमार्फत नेपाल भारतबीच युगौदेखि रहँदै आएको साँस्कृतिक सम्बन्धको महत्वसमेत सम्झाउँछ । प्रशस्त बिम्ब र प्रतीकहरुको संयोजन गर्दै लेखिएको यो कविताको कलात्मकपक्ष अनुपम देखिन्छ ।
राष्ट्र कविको सम्मानले बिभुषित कवि घिमिरेले ‘यही हो मेरो मिथिला, धरती शश्यश्यामला’ को उद्घोष गरेर मिथिलाप्रति दर्शाएका प्रेमले राष्ट्र कवि हुनुको गौरव उज्यालिएको मैथिल बिद्वानहरु एकमुखले बताउँछन् ।
राष्ट्रकवि घिमिरेप्रति यिनै शव्दसाथ उच्चसम्मान ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पित गर्दछु । हे नेपाली मनका ढुकढुकी तिमी सधैं हाम्रो सम्झनामा रही रहने छौ । तिमीलाई सादर नमन…!!