• गोेपाल बराल

बर्दिवास (महोत्तरी) : कोविड-१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी, बोर्डर आउट पोष्ट) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्‍याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश-२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो ।

सीमा क्षेत्रमा हुने अवाञ्छित कृयाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो । अहिले ५० मात्र सञ्चालनमा रहेका सीमा क्षेत्रका ५० पोष्टमा अब ७३ पोष्ट (बिओपी) थपेर १२३ पुर्‍याइन लागिएको सशस्त्र प्रहरी बलका प्रदेश-२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले जानकारी दिनु भएको हो ।

प्र्रदेश-२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमीटर दुरीभित्र बिओपी (सशस्त्र प्रहरी सीमा प्रहरी पोष्ट) थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ । प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याई हालिने बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पार्नुभयो । यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आई सकेका छन् । त्यसपछि क्रमशः दोश्रो चरणमा २४ र तेश्रो चरणमा ३७ बिओपी स्थापना गरिने छन् । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन् ।

अहिले कोविड-१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित कृयाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ । कोविड-१९ सङ्क्रमण जोखिम बढ्न नदिन सीमाक्षेत्रमा थप कडाइ बढाउन , सीमाक्षेत्रबाट हुने तस्करी, लागुऔषध कारोबार, हातहतियार ओसारपसार र अन्तरदेशीय अपराध नियन्त्रणका लागि थप बीओपी स्थापना गर्न लागिएको बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पार्नुभयो ।

कोविड-१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश-२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओपी) समेत स्थापना गरेको छ । अवैध रुपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओपीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

कोविड-१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शैयाका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्भन्ने सन्देस प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७/ ०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधीमा अबैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छकरोड मूल्यका समान बरामद गरि सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ । यसैगरि अपराधिक कृयाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कार्वाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।

यसअवधीमै स्रोत नखुलेको २७ लाख ९५ हजार ७३० नगद र वनक्षेत्रमा हुने अबैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरि सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने अपराधिक कृयाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आस सङालेका छन् ।

२०७७ भाद्र २२, सोमबार ०७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय