पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार १० लाख ३३ हजार ३३० पुगेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचार अनुसार भारतमा ६४ लाख ७३ हजार ५४४ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको र यस संक्रमणबाट एक लाख ८७५ जनाको मृत्यु भईसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ । कूल संक्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार ९९६ निको भएका छन् भने करिब ७९ लाख ४ हजार ७०२ मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार ३२५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५२४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडी एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

२०७७ आश्विन १७, शनिबार १३:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय