
- गोबिन्द महतो
जनकपुरधाम । जबरजस्ती करणी मुद्दामा पिडितलाई बिभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिव बिरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी महलामा मुद्दा दर्ताभएपछि बिभिन्न प्रलोभन आउन थालेको छ ।
भंगहा नगरपालिका वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किदै गरेको महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ ।
‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आईरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि दस लाख दिन्छु भन्छ, अब १० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिहाल, हैन भने मारिदिन्छु भनेर धम्की दिन्छन’ पिडित जबरजस्ती करणी पिडित महिलाले भनिन, ‘स्थानीय जनप्रतिनिधिहरु नै मलाई पटक–पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्ने सम्मको धम्की दिन्छ, तर मैले मानेको छैन, मैले मेरो खोसिएको अस्मिता र ईज्जत त फर्किदैन, तर मैले गुमाएको अस्मिता त्यसै खेर जान दिन्न, मलाई न्याय चाहिन्छ हजुर ।’‘यादव छुटेर आए परिवारै सिध्याउने धम्की आउने गरेको पिडित महिलाको भनाई छ । चारै तिरबाट धम्की आउछ, मुद्दा फिर्ता लि नत्र तेरो घरमा कसैलाई छोडदिन भन्छन, पिडित महिलाले भनिन, ‘बिहान बेलुका मेरो माईतमा समेत छोरीलाई सम्झाई हाल नभए ठीक हुँदैन, भनेर धम्क्याउँछन, अब त एक्लै घरमा बस्न समेत डर लाग्छ, जो कोही पनि घरमा आएर पनि आएर धम्काएर जान्छ, मुद्दा फिर्ता लिहाल हैन, भने ठीक हुदैन ।’ सुस्केरा हाल्दै पिडित महिलाले भनिन, ‘मेरो त बाहिर निस्कनै बन्द भएको छ, घरमा पढेलेखेको कोही छैनन, कसैले केही बुझदैनन, जसले जे भन्यो त्यहीमा मुन्टो हल्लाउछ, म एक्लै न्यायको लागि कहाँ भौतारिनु ? पिडित महिलाले भनिन, ‘घर देखि लिएर बजार सम्म मान्छेलले मलाई बिभिन्न प्रलोभन दिन्छन, बजारमा म ढाकी, सुपली, कन्तरी बेचेर गुजाराका लागि जान्छु, तर त्यहाँ अर्कै बखेडा झिकिन्छ, बजार देखि घर सम्म मिल्न दबाब दिईन्छ, म कहाँ जाउँ कस्ले मलाई न्याय दिन्छ ।’
२०७७ असोज १५ गते जरजस्ती करणीको महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । उनले भने, ‘अभियुक्तलाई हिरासतमा राखी अनुसन्धानमा लागि रहेका छौं, रिपोर्ट आईसकेको छैन, रिपोर्ट आउने बित्तिक्कै थप कारवाही अगाडी बढ्छ ।’