
कैलाली : धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ ।
जिल्ला प्रशासनमा साेमबार भएको छलफलपछि आफन्तले शव बुझेका हुन् । मृतकका परिवारलाई जागिरको व्यवस्था गर्ने र २१ वर्षसम्म छोरीलाई सरकारले पढाउने तथा बीमाबापतको रकम दिने सहमतिपछि आफन्त शव उठाउन तयार भएका हुन् ।
मृतक विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यसैबीच अहिलेसम्म बेपत्ता रहेका धनगढी उपमहानगरपालिका १२ काे अस्थायी प्रहरी पोस्टका प्रहरी जवान रामबहादुर साउदको खोजी कार्यमा स्थानीय जुटेका छन् । घटनास्थल नजिक धनगढी उपमहानगरपलिका १० काे जुगेडा कटानकाे फूलनैया बस्तीका स्थानीयहरु खोजी कार्यमा जुटेको स्थानीय रामकुमार रानाले जानकारी दिनुभयाे ।
आपराधिक घटनाले आफूहरुको बस्ती नै बदनाम भएको बताउँदै रानाले प्रहरीको खोजी कार्यमा गाउँलेहरुले सहयोग गर्न थालेको बताउनुभयाे । उनीहरुले मोहना नदी, सुकुटी नाला, उखुबारीलगायत स्थानमा खोजी कार्य थालेका हुन् ।