जनकपुरधाम : जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा शुक्रवार जनकपुर आयुर्वेद औषधालयमा धन्वन्तरि तथा आरोग्य दिवस मनाईएको छ । जनकपुर १४ स्थित मुजेलिया स्थित कार्यालयमा आयुर्वेद तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा धन्वन्तरि जयन्ती तथा आरोग्य दिवस मनाईएको हो ।

कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति रामदेव बनरैतले जडिबुटिबाट उत्पादित औषधिको माध्यमबाट सस्तो तथा सुलभ उपचार सेवा भएपनि सरकार र जनताले आयुर्वेदको प्रभावकारिता बुझ्न र बुझाउन नसकेकोले आयुर्वेद उपेक्षामा परेको बताए । उनले वन जङ्गल तथा आफ्नै खेतबारीमा पाईने औषधिहरुको उपयोगिता थाहा नभएका कारण खेर गैरहेको बताउँदै सरकारबाट जनचेतनामुकल कार्यक्रम आवश्यक रहेको बताए । उनले भने, ‘सरकारले विगत देखि नै आयुर्वेदको उपेक्षा गरेको छ, त्यसैले यसलाई जनस्तरबाट उकास्न आवश्यक छ, हैन भने अझै कयौं पुस्ता सम्म आयुर्वेदको महत्व नै नबुझि हामी अमुल्य जडिबुटीहरु सधै गुमाईरहन्छौं, अन्यथा हामीले भएकै श्रोत साधनको प्रयोग गरेर भएका जडिबुटिको सदुपयोग गरौं ।’

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निमित्ति निर्देशक विजय झाले जनकपुर आयुर्वेद औषधालयले नाम कमाउनु पर्नेमा केही सिमिति व्यक्तिहरुको बदमासीले बदानामी भैरहेको प्रति दुःख व्यक्त गरे । उनले हामिक देखि कर्मचारी सम्म सबैले संयमित, मितव्ययिता, कर्तव्य निष्ठा र अधिकारसंगै कर्तव्यको बोध गरेर अगाडी बढ्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले हरेक वार्डमा स्वास्थ्य आरोग्य केन्द्र खोल्ने तयारी गर्दैछौं, तर यहाँ केही कर्मचारीका कारण आयुर्वेद बदनाम भईरहेको छ, त्यसैले अबपनि सचेत नभए कारबाहीको भागिदार बन्नुपर्छ ।’

जनकपुर आयुर्वेद औषधालयकी प्रमुख सिमा झाको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नवलकिशोर झा सहितका व्यक्तिहरुले आयुर्वेदको समबद्र्धन तथा संरक्षणमा अहिलेको पुस्ता लाग्नुपर्ने बताए । उनले आयुर्वेदलाई संरक्षण र सम्बद्र्धन गर्न सकिए आर्यआर्जनका साथै आरोग्यता समेत बढने बताए ।

औषधालयका वैद्य निरिक्षक कविराज भोला महतोको उदघोषणमा भएको कार्यक्रममा करिब तीन दजर्न स्तनपाई महिला तथा जेष्ठ नागरिकलाई कोभिड-१९ को रोग प्रतिरोधात्मक क्षमताको औषधि प्रदान गरिएको छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा समेत लिने गर्छन् । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

health-nepalvani11

२०७७ कार्तिक २८, शुक्रबार १९:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय