
महोत्तरी : महोत्तरी : बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रकरणपछि प्रदर्शनमा प्रहरीको गोली लागि घाइते तीन मध्येबाट एक जनाको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर घाइते बर्दिबास १ का ३५ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारको क्रममा काठामाडौं स्थित ग्राण्डी अस्पतालमा मंगलबार राति १ बजे तिर मृत्यु भएको परिवारजनले जनाएको हो ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास ५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
स्थानीयले बलात्कार पछि हत्या गरिएकी बालिका गुलाब शाह खातुनको शव बोकेर सडकमा प्रदर्शन गरेका थिए । बर्दिवास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी शाह आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले बालिका हत्याको अभियोगमा स्थानीय अरुण कुमार साहलाई पक्राउ गरेको छ ।