बैतडी : एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ।

सिगास गाउँपालिका–३ की एक १८ वर्षीया किशोरीलाई जेठमा स्थानीय दीपकसिंह धामीले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। ती किशोरी साँझको समयमा बलात्कृत भएको घटनालाई असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ‘पीडित पक्षसँगको प्रारिम्भक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको छ’, अधिकारीले भने, ‘उनीहरूलाई सुन दिने प्रलोभनमा घटना लुकाएको पाइएको छ। हामीले यो घटनामा सूक्ष्म रूपले अनुसन्धान अगाडि बढाएका छौं।’

पीडित पक्षलाई कात्तिक मसान्तभित्र सुन दिने सर्त राख्दै तमसुक बनाएको देखिन्छ। तर, त्यसबमोजिम सुन दिनुको सट्टा पीडकले धम्क्याउन थालेपछि बलात्कार घटना प्रहरीमा पुगेको हो। यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘यो घटनामा संलग्न सबैको पहिचान गरी कानुनअनुसार कारबाही हुन्छ’, उनले भने, ‘यसमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ।’ उनका अनुसार पीडित पक्षले जेठमा किशोरीमाथि बलात्कार भएको भन्दै ४ जनाको नाममा किटानी जाहेरी दर्ता गराएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

२०७७ मंसिर १२, शुक्रबार ०९:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय