जनकपुरधाम :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुरधामको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवन एवं कन्ट्रोल टावरको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको जनकपुरधाको विकासका लागि तीन वटै तहको सरकारको संयुक्त समन्वय र सहकार्यको आवश्यकता रहेको बताए।

‘आजदेखि सञ्चालनमा आएको टर्मिनल भवन प्रदेश २ को सरकार र यहाँका स्थानीय सरकार र संघीय सरकार बीचको मित्रताको सेतु हो,’ उनले भने,‘जनकपुरधाम जस्तो पवित्र तीर्थस्थलमा टर्मिनल भवन निर्माण हुनुको अर्थ संघीय सरकारको तर्फबाट प्राप्त एउटा सुन्दर उपहार हो।’

आपसी समझदारी बीचको संघीयता रहेको बताउँदै मन्त्री भट्टराईले समझदारी र सहकार्यका साथ संविधानमा उल्लेख भएका काम, कर्तव्य र अधिकारलाई पालना गर्दै जिम्मेवारी र जवाफदेहितालाई अगाडि बढाउँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पूरा गर्ने सबैको दायित्व रहेको बताए।

मन्त्री भट्टराईले सात वटै प्रदेशमध्ये प्रदेश २ को सरकार र केन्द्र सरकारबीच सबभन्दा बढी घनिष्ठ सम्बन्ध रहेको दाबी समेत गरे।

‘हाम्रो मित्रता असल छ र हामी बीचमा कुनै समस्या छैन,’ उनले भने, ‘हामीबीच समस्याविहीन सम्बन्ध रहेको छ, सानातिना अभ्यासको क्रममा केही समस्या आउन सक्छन्। किनभने हामी कोही पनि अहिले संघीयताका अनुभवी र ज्ञाता भइसकेका छैनौं।’

जनकपुर विमानस्थलको नामको सन्दर्भमा उनले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा पत्र लेखेर संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएपछि यसको नाम जनकपुरधाम विमानस्थल राख्न केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।

जनकपुरधाम विमानस्थलको १३ सय मिटरको धावनमार्गलाई १६ सय मिटरसम्म विस्तार गर्नका लागि स्थानीय सरकारले थप जग्गाको प्रबन्ध मिलाए केन्द्र सरकार प्राविधिक लगायतका अन्य खर्च जुटाउन तयार रहेको उनले बताए।

alfa care
कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुरधाम विमानस्थललाई अझ बढी आधुनिक बनाउनेतर्फ ध्यान पुर्याउन मन्त्री भट्टराईसँग आग्रह गरे।

जनकपुर विमानस्थलको नाम परिवर्तन गरी जनकपुरधाम विमानस्थल कायम गरिए यसले धार्मिक पर्यटनको क्षेत्रमा थप योगदान पुग्ने उनको भनाइ थियो।

२०७७ मंसिर २३, मंगलवार २०:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय