
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपामा सत्ताभोगको सुख सयल छ । सत्ताको शक्तिकेन्द्र सिंहदरवारमा विराजमान छन् । बजेटको डाडु पन्यूँ पनि हातमा छ । कसैले हल्लाउन नसक्ने बहुमत छ । कमजोर विपक्षी छन् । विपक्षी पनि सुते जस्तै छन् । तर प्रधानमन्त्री लगायत नेकपाका कुनै पनि नेताको अनुहारमा हाँसो छैन । कुनै नेताको मुहार उज्यालो छैन । सबैको मुखमण्डल मलिन देखिन्छ । क्लान्त, थाके जस्तो , विरह वा औडाहा भएर रुन्चे अनुहार लिएर भौतारिएको देखिन्छ । कमि र अभाव केही कुराको पनि छैन तर मनमा सुखको अनुभूति कसैलाई पनि छैन । दुःखको बेला रोइन्छ तर नेकपाभित्र सुख रोएको छ ।
नेकपाको कार्यालय धुम्बाराही, पेरिस डाँडामा हाँसोको पर्रा छुटेको धेरै भयो । बालुवाटारमा पनि मुस्कान कसैको अनुहारमा छैन । खुमलटार र कोटेस्वरतिर पनि हँसिलो अनुहार कसैको देखिदैन । मानौ पूरै नेकपा नामधारीहरुले नहाँस्ने कसम खाएका छन् । मानौ पार्टीमा कोही पनि हाँस्न नपाउने नियम बनेको छ वा नहाँस्ने ह्वीप जारी गरिएको छ । नेपालका ख्यातिप्राप्त हाँस्य कलाकारहरुलाई नेकपाका नेताहरुको अगाडि उभ्याएर प्रहसन देखाउँदा पनि नेकपाका नेताहरु हाँस्ने छैनन् । बरु हाँस्य कलाकारहरु रुनेछन् । कम्युनिष्ट पार्टीमा फलामे अनुशासन हुन्छ । हाँस्न नपाइने उर्दी जारी भए पछि कोही हाँस्न पाइन्न ।
भारतले नाकाबन्दी गर्दाको अवस्थामा होस् वा भूकम्पले नेपाल हल्लाएको बेला । कोरोना संकटले देशलाई गाँजेको आपतविपद्मा पनि नेताहरुको अनुहारमा हाँसो देखिन्थ्यो । निर्वाचन हारेका नेताहरु पनि जनताका अगाडि निराश भएको छैन भन्ने देखाउन देखावटी भए पनि फिस्स हाँसेर देखाउँथे । प्रधानमन्त्री केपी ओलीले चुट्का भनेर प्रतिपक्षमाथि प्रहार गरेको कटाक्षले नेकपावृत्तमा उठ्ने हाँसोको पर्रा खोला सुके जस्तै सुक्यो । तर अहिले हाँसो बन्दाबन्दी छ । कोरोनाकालमा लकडाउन गरे जस्तै हँसाईमा लकडाउन छ । बरु लकडाउनको बेलामा पनि आक्कलझुक्कल बन्द सटर खुल्थ्यो तर नेकपाका नेताहरुको मुख खुलेर दन्त देखिदैन । हाँस्यको खडेरी छ नेकपामा ।
नेकपाभित्र यतिबेला रिस बढेको छ । बालुवाटारका हिमायतिहरु मात्र होइन खुमलटारका अनुयायीहरु पनि हमेसा तनावमा रहन्छन् । सुविधाजनक बहुमत सहित सत्ताभोग गरिरहेका नेकपाका नेताहरु त बिनाकारण पनि गद्गद् हुनु पर्ने हो र गलल… हाँस्नु पर्ने हो । हाँस्य आत्माको खान्की हो । हाँस्यले प्रफुल्लता प्रदान गर्छ ।
नेकपाका नेताहरु कम्युनिष्ट भएका कारण नहाँसेका हुन् वा नहाँसेर आफूलाई कम्युनिष्ट सिद्ध गरिरहेका छन् । पत्ता लगाउन कठिन भयो । नेकपाका साना नेता हाँस्दा उपल्ला तहकाले हप्काउँछन् कि क्या हो ! चियो गरेर पत्ता लगाउनु पर्ने छ । हाँस्नुलाई पार्टी फुटाउने षडयन्त्रको रुपमा चित्रण गरिन्छ कि भन्ने डर हो की ! वा हाँस्दा पार्टी फुटिहाल्छ कि भन्ने भय पनि हुनसक्छ । हाँसोदेखि नेकपाका सारा नेताहरु विमुख भएका छन् । बालुवाटारबासी नहाँसे पनि खुमलटारेहरु हाँस्नु पर्ने हो वा खुमलटारे नहाँसे बालुवाटारतिर खित्का सुनिनु पर्ने हो । च्याँखे दाउमा रमाइरहेका माधव नेपालको मन्द मुस्कानसहितको भावभंगीमा देखिनु पर्ने हो । तर तलदेखि माथिसम्म कतै हाँसो छैन । मृत्युउत्सव मनाए जस्तो नेकपावृत्तमा हाँसोविहीन चेहरामात्र देखिन्छ ।
अहिले बजारमा हाँसोविहीन नुन खाएको कुखुरा जस्तो झोक्रयाएको अनुहार देख्नासाथ बुझ्न सकिन्छ यो नेकपाजन हुन् । अतिशय रिसमा चण्डाल मुहार देखियो भने बुझ्नुस् यी केन्द्रीय कमिटीस्तरका नेता हुन् । अनुहारमा चम्किलो कान्ति भएका कुनै पनि मानिस नेकपाको विर्ता बालुवाटार, धुम्बाराही वा पेरिसडाँडा वा डेरा आश्रम खुमलटारतिर पुग्नासाथ अदृश्य शक्तिले उसलाई तत्कालै रुन्चे बनाइ दिन्छ । मानौ कुनै डुलुवाले भेटेको होस् ।
प्रचण्डलाई जुनबेला हेर्नुहोस् , मानौ उनको भर्खरै प्रधानमन्त्री पद खुस्किएको छ र बालुवाटार खाली गरेर झिटीगुन्टा बोकेर डेरा सर्नु परेजस्तो देखिन्छन् । माधव नेपाललाई हेर्नुहोस् हरुवा जुवाडी रित्तो हात घर फर्के जस्तो । झलनाथको हाँसो त सपेरा जस्तो भयो । सर्प देखाएर जति मागे पनि झोली भरिएन । बामदेब गौतम बसमा उभिएर यात्रा गर्नु परेका यात्रु जस्तै । भीड छाँटिएला र बसौंला भनेर थकित भएर कुरे जस्तो । अनुहारमा कान्ति नै छैन ।
भरिभराउ र खाइलाग्दो शरीर, आभा, दीप्ती र ओजले भरिएको व्यक्तित्व केपी ओली साह्रै मिजासिला देखिन्थे । तर उनको अनुहारबाट पनि हाँसो गायब भयो । पार्टी बैठकमा रतेउली नाच देखाउँदा पनि ओली हाँसेनन् । रतेउलीमा लाठोले स्त्री -पुरुषको भावभंगीमा देखाउँदा पनि ओलीको खित्का छुटेन । ईश्वर पोखरेल र विष्णु पौडेल पनि पटक्कै हाँसेको देखिदैन । झन् झन् खँदिलो उदाशीले छोए जस्तो । गम्भीर, धीर र निष्पट्ट अँधेरी रात जस्तो अनुहार देखिन्छ । बालुवाटारको जमिन खोसिए पनि अर्थमन्त्री पाएकै थिए । रक्षा मन्त्रालय खोसिए पनि सवैलाई निगरानी राख्ने क्याविनेट स्तरीय जागिर जोगिएकै थियो । तैपनि अनुहार मलिन मलिन देखिन्छ ।
केपी ओली यदाकदा उखान टुक्का भनेर हाँस्थे हसाउँथे । तर त्योे पनि बन्द छ । पूर्व गएपछि केपी ओली हाँस्थे हसाउँथे । हाँस्नकै लागि पूर्व जान्थे वा पूर्व गएर हाँस्थे । त्यो पनि हरायो । मन्त्रिपरिषद्को बैठकमा पनि यदाकदा हाँस्ने हसाउने कार्य हुन्थ्यो । तर अब त्यो पनि देखिदैन । बैठकबाट निस्कदा मन्त्रीहरु निसासिएर निस्के जस्ता देखिन्छन् । नेकपावृत्तमा हाँसो गायब भएको देखेर छरछिमेकमा पनि अचम्म मानिदै छ । हाँसो सुनिएन भन्दै दक्षिणतिरबाट पनि रअ प्रमुख र विदेश सचिव पनि हेर्न आए । उत्तरबाट रक्षामन्त्री पनि आए । तर पनि कसैको मुहारमा हाँसो आएन ।
नेकपामा हाँसो हराए पछि बाहिर बाहिर हँसिलो भीड देखिन थालेको छ । सडकमा कमल थापाहरु नाच्न थालेका छन् । कमल थापा नाच्न उफ्रिन थालेपछि बालुवाटारमा चिन्ता थपिएको छ । बालुवाटारले नेकपाजनबाहेक पनि अन्य दललाई बोलाएर विलौना पोखेका छन् । त्यहाँ पनि हप्कीदप्की भयो र ओलीको मुहार झन् कालो भयो भन्ने सुनिदै छ । यता पार्टी फुट्छ की भन्ने पीरले बिरवलको खसी चितुवाको पुत्ला देखेर दुब्लाए जस्तै भएका छन् । पार्टी एकजुट हुँदा पनि खुशी नभएका कार्यकर्ताहरु अहिले पार्टी फुट्न हुन्न भन्ने दुहाई दिइरहेका छन् । तलको दुहाई र रोदन क्रन्दनले माथिका लाई छोएको छैन । माथिकाहरुको मलिन अनुहारले तलकालाई छोएको छैन ।
शत्रुता गर्न पनि देर नलाग्ने । मित्र हुन पनि विलम्ब नगर्ने । नेकपाका नेताहरु नहाँसे पनि उनीहरुको पाखण्डपूणर् चरित्र हेरेर देखेर दुनियाँ हाँसेका छन् । एमसिसी पास हुन नसकेपनि अमेरिका हाँसेको छ । कालापानी क्षेत्रलाई नेपालको नक्शामा राखे पनि भारतीयहरु हाँसेका छन् । सवैलाई मिलेर बस भनेर अर्ति उपदेश दिएर गएका उत्तरी छिमेकीहरु पनि हाँसेका छन् । आन्तरिक कलहमा रुमलिएर पोल खोलाखोल गरिरहेका कांग्रेसजन पनि घर झगडा बिसाएर हाँसेका छन् । सर्वस्व गुमाएका पूर्व राजा ज्ञानेन्द्र पनि मुस्काएका छन् ।
नेकपामा भने अन्धेरी रात छ । हरेकको मुहार मलिन छ । ज्योति गायब छ । धन दौलत ऐश्वर्य सत्ता र शक्ति हुँदाहुँदै पनि खुशी भने गायब छ । नेकपाभित्र सुख धर्धरी रोएको छ ।